गोरखा: गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण गाउँपालिकाका विभिन्न बस्तीका भौतिक संरचनामा क्षति पुगेको छ भने स्थानीय नागरिकको जनजीवनसमेत प्रभावित बनेको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार, विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सहयोगी मनहरूलाई आवश्यक सहयोग गर्न अपिल गरेका छन्।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल असोज २५ गते आइतबार चुमचेतस्थित बूढीगण्डकी नदीको सहायक नदी उर्लिएर आएको बाढीका कारण नदीमा पानीको बहाव बढ्दा गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति पुगेको हो। बाढीले गाउँपालिकाभित्रका झोलुङ्गे पुल, क्यान्टिलिभर पुल, विद्यालय, जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ। यसबाट स्थानीय नागरिकको दैनिक जनजीवन, आवतजावत तथा अत्यावश्यक सेवा प्रवाहमा समेत गम्भीर कठिनाइ उत्पन्न भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार विपद्बाट ४३ घरपरिवार प्रभावित भएका छन्। विशेषगरी वडा नम्बर ३, ६ र ७ का विभिन्न गाउँटोलका नागरिक बढी प्रभावित भएका छन्। प्रभावित परिवारलाई तत्काल खाद्यान्न तथा राहत सामग्रीको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष लामाले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको सुरक्षा, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जनाएका छन्। सम्बन्धित सरकारी निकाय तथा सुरक्षा निकायसँग समन्वय गरी अवरुद्ध आवागमनलाई सहज बनाउन वैकल्पिक गोरेटो बाटो निर्माण गर्ने र क्षतिग्रस्त पुल, सडक तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण प्रक्रिया अघि बढाउने गाउँपालिकाको तयारी छ।
गाउँपालिकाले विपद्बाट प्रभावित क्षेत्रमा रहेका नागरिकलाई नदी तथा खोलानालाको आसपासका जोखिमयुक्त स्थानमा नजान, सुरक्षित स्थानमा बस्न तथा सम्बन्धित निकायबाट जारी गरिएका विपद्सम्बन्धी सूचना र निर्देशन पालना गर्नसमेत आग्रह गरेको छ।
त्यस्तै, राहत वितरणमा पारदर्शिता र निष्पक्षता कायम गर्न एकद्वार प्रणालीमार्फत वास्तविक पीडित तथा प्रभावित नागरिकलाई आवश्यकताका आधारमा राहत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। राहत सामग्री तथा सहयोगको दुरुपयोग हुन नदिन प्राप्त सहयोगको व्यवस्थित अभिलेखीकरण र तथ्याङ्क व्यवस्थापन गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष लामाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय र सहयोगी मनहरूलाई आवश्यक सहयोग, सहकार्य र समन्वय गरिदिन आग्रह गरेका छन्।
यसैबीच, बुढीगण्डकी बाढीले उत्तरी गोरखाका विभिन्न बस्ती, पुल, सडक तथा जलविद्युत् संरचनामा व्यापक क्षति पुर्याएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र नेपाल रेडक्रस सोसाइटीका प्रतिवेदनमा समेत उल्लेख छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम