गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ ले आफ्नै नवनिर्मित भवनबाट प्रशासनिक सेवा प्रवाह सुरु गरेको छ । फिलिमस्थित वडा कार्यालय भवनको सोमबार गाउँपालिका अध्यक्ष निमा लामाले उद्घाटन गरेका हुन् ।
अध्यक्ष लामाले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जानकारी दिएका छन् । यसअघि भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा दिने भएको हो ।
भवनको पहिलो तला निर्माण सम्पन्न भएपछि सोही स्थानबाट सेवा प्रवाह हुँदै आए पनि औपचारिक उद्घाटन भने सोमबार गरिएको वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।
‘विगत दुई वर्षदेखि यही भवनबाट सेवा प्रवाह गर्दै आए पनि औपचारिक उद्घाटन हुन सकेको थिएन,’ उनले भने, ‘आजदेखि औपचारिक रूपमा आफ्नै भवनबाट सेवा सुरु गरेका छौँ ।’
साढे दुई तले उक्त भवनमा नौवटा कोठा र एउटा सभाहल छन् । आर्थिक वर्ष २०८०/८१ को बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माणका लागि ३ करोड ५९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । भवन निर्माण सम्पन्न गर्न करिब २ करोड ५५ लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार जिएम कन्स्ट्रक्सन र दुधपोखरी कन्स्ट्रक्सनले भवन निर्माण गरेका हुन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले चुमनुब्रीका अन्य वडाका कार्यालय भवन निर्माणसमेत सम्पन्न भइसकेको र तिनको उद्घाटन हुन बाँकी रहेको जानकारी दिएका थिए । चुमनुब्री गाउँपालिकामा सातवटा वडा रहेका छन् ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम