logo

बुधबार, मंसिर १० २०८३

kantipurpationlinetv

२०८३ मंसिर १० बुधबार

बूढीगण्डकी आयोजनाका पूर्वाधार निर्माण सुरु, कार्यालय भवन र पुलको शिलान्यास

बूढीगण्डकी आयोजनाका पूर्वाधार निर्माण सुरु, कार्यालय भवन र पुलको शिलान्यास


  • बुधबार, मंसिर १० २०८३
  • 70
    SHARES

    गोरखा: राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ। आयोजनाको कार्यालय भवन र पुलको शिलान्यास गरिएको छ। गोरखाको गण्डकी गाउँपालिका–८ घ्याच्चोकस्थित सिउरेनीटारमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले दुवै संरचनाको शिलान्यास गरेका हुन्।

    करिब ४ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको बूढीगण्डकी आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई बहुआयामिक विकासको आधार बन्ने अपेक्षा गरिएको छ। आयोजनाबाट गोरखा, धादिङ र चितवनसहित आसपासका क्षेत्रमा रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा बाढीपहिरोजस्ता विपद्को जोखिम न्यूनीकरणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

    कार्यक्रममा सभामुख अर्यालले आयोजना निर्माणलाई गति दिन आवश्यक कानुनी र संस्थागत तयारी भइरहेको बताए। आयोजनाका लागि छुट्टै अधिकारसम्पन्न निकाय गठन गर्नेसम्बन्धी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको र संसद्को अधिवेशन सुरु भएको दुई साताभित्र विधेयक संसद्मा पेस गर्ने तयारी रहेको उनले जानकारी दिए। आयोजना निर्माणका क्रममा प्रभावित स्थानीय बासिन्दालाई अन्याय हुन नदिने, उचित मुआब्जा तथा पुनर्वासको व्यवस्था गर्ने र व्यवस्थित बस्ती तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिने उनको भनाइ थियो।

    आयोजनाका लागि सरकारले प्रारम्भिक रूपमा डेढ अर्ब रुपैयाँ विनियोजन गरेको र थप डेढ अर्ब रुपैयाँ उपलब्ध गराउन सरकार तयार रहेको जानकारी कार्यक्रममा दिइएको थियो। बजेट अभावका कारण आयोजना निर्माणको काम प्रभावित हुन नदिने भौतिक पूर्वाधारमन्त्री सुनील लाम्सालले बताए। उनले तोकिएको समयमै आयोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी आयोजनालाई विद्युत् उत्पादनमा मात्र सीमित नगरी पर्यटन, औद्योगिक विकास, वातावरण संरक्षण र योजनाबद्ध बस्ती विकाससँग जोड्नुपर्ने बताए। उनले आयोजना प्रभावकारी बनाउन अधिकारसम्पन्न निकाय र छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै बेनीघाट–आरुघाट–लार्के सडकको स्तरोन्नतिमा समेत ध्यान दिन आग्रह गरे।

    आयोजनाको कार्यालय भवन निर्माणका लागि बिष्ट–सिन्धुली जेभीसँग ३७ करोड २८ लाख ५८ हजार ५३३ रुपैयाँ ६६ पैसामा ठेक्का सम्झौता गरिएको छ। त्यस्तै, पुल निर्माणका लागि एसबीए निर्माण सेवा प्रालिसँग २३ करोड ६३ लाख रुपैयाँमा सम्झौता भएको छ। शिलान्याससँगै आयोजना निर्माणका लागि आवश्यक प्रशासनिक तथा भौतिक पूर्वाधार तयार गर्ने कामले गति लिने अपेक्षा गरिएको छ।

    कार्यक्रममा सांसदहरू आशिका तामाङ, बोधनारायण श्रेष्ठ, शोभा अधिकारी, सीता थापालियालगायत जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा आयोजनासँग सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page