logo

बिहिबार, चैत्र ४ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ४ बिहिबार

चुनाव हारेर पनि समाजसेवामा सक्रिय प्रेम खत्री, गाउँ–गाउँ पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चुनाव हारेर पनि समाजसेवामा सक्रिय प्रेम खत्री, गाउँ–गाउँ पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


  • बिहिबार, चैत्र ४ २०८२
  • 3.4K
    SHARES

    गोरखा । राजनीतिमा हार र जित एउटा स्वाभाविक प्रक्रिया हो, तर समाजसेवा एउटा ‘अटुट संकल्प’ हो भन्ने उदाहरण गोरखामा फेरि एकपटक चरितार्थ भएको छ। गत फागुन २१ गतेको निर्वाचनमा विजयी तथा पराजित भएपछि धेरै उम्मेदवारहरू चुनावी क्षेत्रबाट ओझेल परिरहेका बेला नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी प्रेम खत्री भने हजारौँ विद्यार्थीको भविष्य उजिल्याउन गाउँ–गाउँ पुगेका छन्।

    उनले आफ्नो नेतृत्वमा रहेको ‘सम्भव नेपाल’ संस्था मार्फत गण्डकी गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ४ सय ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेर उदाहरणीय कार्य गरेका हुन्। गण्डकी गाउँपालिकाका विभिन्न विद्यालयमा पुगेर खत्रीले विद्यार्थीहरूलाई ट्रयाकसुट, टिसर्ट, जुत्ता, मोजा, टोपी, झोला र होमवर्क डायरी जस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरिरहेका छन् ।

    कार्यक्रम संयोजक उत्तम अधिकारीका अनुसार यो सहयोगले विपन्न र दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुग्नुका साथै विद्यालय जान थप प्रोत्साहन मिलेको छ।

    निर्वाचनमा पराजित भए पनि आफ्नो सामाजिक उत्तरदायित्वबाट विचलित नभई खत्री स्वयं विद्यालयको आँगनमा पुग्दा स्थानीय अभिभावक र विद्यार्थीहरूमा ठूलो उत्साह देखिएको थियो।

    बिभिन्न विद्यालयहरुमा सामाग्री हस्तान्तरण गर्दै खत्रीले निर्वाचनको परिणामले आफ्नो साामजिक कार्यलाई कुनै असर नगर्ने समेत बताएका छन् । ‘मैले आफ्नै मनको कुरा सुनेर समाज, समुदाय र नागरिकको सेवाको काम थालेको १५ बर्ष भयो, आज निर्वाचनमा हार ब्यहोरेँ भनेर मेरो सामाजिक कर्म रोकिने छैन’ उनले थपे ‘समाज सेवामा न मैले हिजो कुनै स्वार्थ हेरेँ, न भोली हेर्नेछु, यो नितान्त मेरो ब्यक्तिगत चाहाना हो, मत परिणाम मेरो पक्षमा आएन भनेर मेरो सामाजिक अभियान रोकिदैन ।’

    साथै उनले आफ्नो डेढ दशकयताको समाज सेवाको कर्मलाई चुनावी माहोल छोपेर केहि स्वार्थ समुहले भ्रम सृजना खोजेकोप्रति दुख समेत ब्यक्त गरे । ‘मैले आजसम्म समाजसेवा र विपन्नको सहयोगका नाममा करोडौं रकम संस्थाबाट र आफ्नो ब्यवसायबाट खर्च गरिसकेँ, तर बुझ्दै नबुझि केहि स्वार्थ समुहले चुनावमा यसैलाई जोडेर मेरा विरुद्ध भ्रम सृजना गर्न खोजियो, यो दुखको कुरा हो’ खत्रीले भने ‘यस्ता कुराबाट म कहिल्यै विचलित भएको पनि छैन र हुनेपनि छैन ।’

    गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङबाट पराजित बनेका खत्रीले आफू अब गोरखा १ बाट कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने समेत घोषणा गरेका छन् । निर्वाचनमा उम्मेदवार आफ्नो इच्छाबाट नभई समय परिस्थिती, पार्टी नेतृत्व र शुभचिन्तकहरुको माग र दवावबाट बन्न पुगेको स्मरण समेत गरे ।

    ‘म मेरो मात्रै चाहानाबाट उम्मेदवार बनेको थिइन, पार्टीबाटै दवाव सृजना भयो, मेरा शुभचिन्तकको पनि माग भयो, तर मैले त्यतिबेलै भनेको थिए, म एक पटक मात्रै उम्मेदवार बन्ने हो, जित हार आफ्नो ठाउँमा छ, म फेरी अर्को पटक पालो आउँछ भनेर कुरेर बस्ने मान्छे होइन’ खत्रीले थपे ‘चुनाव जितेर साँसद र मन्त्री बन्दा आफूले १५ बर्षदेखि गर्दै आएको कामलाई डबल बनाउन सकिन्छ भन्ने थियो, तर त्यो च्याप्टर क्लोज भयो, डबल बनाउन नसकेपनि गर्दै आएको काम रोकिदैन ।’

    खत्रीका अनुसार गएको निर्वाचन प्रचारका क्रममा मतदाता तथा आमनागरिकसंग जितेपनि-हारेपनि छिट्टै समाजसेवामा फर्किने प्रतिवद्धता जनाए अनुसार निर्वाचन परिणाम आएको एक हप्तापछि नै सहयोग सामाग्री लिएर गाउँ फर्किएको बताए ।

    खत्रीले तिन महिनाअघि समेत चुमनुब्री गाउँपालिकाभरका करिब १५ सय विधार्थीलाई यस्तै प्रकारका सामाग्री वितरण गरेका थिए । त्यतिबेलै उनले चुमनुब्रीका सबै वडाका स्वास्थ्य चौकीमा ल्याव सञ्चालनका लागि आवस्यक सामाग्री समेत हस्तान्तरण गरेका थिए ।

    अबको कार्यक्रम भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकाका बिभिन्न स्वास्थ्य चौकीमा सुविधासम्पन्न प्रयोगशाला स्थापना गराउने र त्यसका लागि सामाग्री सहयोग गर्ने रहेको बताएका छन् । गण्डकी गाउँपालिकाका बिभिन्न विद्यालयमा भएको सामाग्री वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, शिक्षा शाखा प्रमुख सुदिप पन्थ, स्थानीय नागरिक अगुवा तथा बुद्धिजिवी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech