logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

नयाँ वर्षको अवसरमा गोरखामा रैथाने खाना तथा सडक महोत्सव हुने

नयाँ वर्षको अवसरमा गोरखामा रैथाने खाना तथा सडक महोत्सव हुने


  • शुक्रबार, चैत्र २० २०८२
  • 98
    SHARES

    गोरखा — नयाँ वर्ष २०८३ को अवसर पारेर गोरखामा रैथाने खाना तथा सडक महोत्सव आयोजना हुने भएको छ। गोरखा होटल संघको आयोजनामा हुन लागेको महोत्सवको तेस्रो संस्करण चैत ३० गतेदेखि दुई दिनसम्म सञ्चालन हुनेछ।

    जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा आयोजना हुने महोत्सवबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका महासचिव सुमन श्रेष्ठले बताए।

    उनका अनुसार नयाँ वर्ष मनाउन जिल्ला बाहिर जाने प्रवृत्तिलाई निरुत्साहित गर्दै जिल्लामै उत्सव मनाउने संस्कार विकास गर्न महोत्सवले सहयोग पुर्‍याउनेछ। साथै, महोत्सवले रैथाने खानाको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

    महोत्सवमा विपिचोकदेखि ठुलोआँगनसम्म सडकमै रैथाने खानाका स्टल राखिनेछन्। सवारी आवतजावतलाई व्यवस्थित गर्न वैकल्पिक मार्ग प्रयोग गरिने आयोजकले जनाएको छ।

    महोत्सव अवधिभर विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति रहने कार्यवाहक अध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए। चैत ३० गते साँझ ‘द एलिज ब्याण्ड’ र ‘रक्तिम ब्याण्ड’को विशेष प्रस्तुति रहनेछ। साथै, जिदान गुरुङ, हरिराम परियार, पृथ्वी गुरूङ, सुवास रेग्मी, मिरा राना मगरलगायत कलाकारहरूको प्रस्तुति रहनेछ।

    त्यस्तै, वैशाख १ गते खुला समूह नृत्य प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। सहभागी हुन इच्छुक समूहहरूले चैत २९ गतेभित्र दर्ता गराउनुपर्नेछ भने दर्ता शुल्क नलाग्ने जनाइएको छ।

    महोत्सव गोरखा नगरपालिका, नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) को प्रवर्द्धन तथा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहयोगमा सञ्चालन हुने आयोजकले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page