गोरखा — वन डढेलो सप्ताह अन्तर्गत डिभिजन वन कार्यालय गोरखाले सचेतनामूलक कार्यक्रमसहित विभिन्न गतिविधि सञ्चालन गरेको छ।
हालै देशभर सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअनुसार गोरखामा पनि वन डढेलोको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिनुभयो।
कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय मातहतका ६ वटै सबडिभिजन वन कार्यालयमार्फत सम्बन्धित क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरूलाई डढेलो लाग्न नदिन अपनाउनुपर्ने उपाय तथा डढेलो लागेपछि नियन्त्रणका उपायबारे अभिमुखीकरण प्रदान गरिएको छ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका र गण्डकी गाउँपालिकामा सरोकारवालालाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रमुख शाण्डिल्यले बताउनुभयो।
साथै, कार्यक्रममा अग्निरेखा सरसफाइ, नियन्त्रित डढेलो अभ्यास तथा वन क्षेत्रमा रहेका सुकेका पातपतिङ्गर संकलन गरी व्यवस्थापन गर्ने उपायबारे जानकारी दिइएको कार्यालयले जनाएको छ।
डढेलो पनि एक प्रकारको विपद् भएको उल्लेख गर्दै प्रमुख शाण्डिल्यले सप्ताह अन्तर्गत सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम पनि छिट्टै सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा