गोरखा — सिरानचोक गाउँपालिकामा पहिलो लालीगुराँस महोत्सव सुरु भएको छ। श्रीनाथमण्डली तथा कोट विकास समितिको आयोजना तथा गाउँपालिकाको प्रवर्द्धनमा सोमबारदेखि महोत्सव सुरु भएको हो।
नयाँ वर्ष २०८३ वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सव १६ दिनसम्म चल्ने प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद खनालले जानकारी दिए। उनका अनुसार महोत्सव अवधिभर विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरू सञ्चालन गरिनेछ।
महोत्सवको मुख्य आकर्षणका रूपमा लालीगुराँस पदयात्रा कार्यक्रम रहेको छ। चित्रेपोखरी–गाग्रे डाँडा–श्रीनाथमण्डली–सिरानचोक, थालाजुङ–राम्चे–श्रीनाथमण्डली–सिरानचोककोट, आरुबोट–इलिमपोखरी–सिरानचोककोट–श्रीनाथमण्डली तथा नयाँसाघुँ–अमरसिंह पार्क–नामरुकदेवी–छेडागुफा हुँदै श्रीनाथमण्डली पुग्ने चारवटा पदमार्ग तय गरिएको छ।
त्यस्तै, महोत्सव अवधिभर लालीगुराँस फोटो तथा भिडियो प्रतियोगिता सञ्चालन गरिनेछ। फोटोतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने भिडियो/भ्लगतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुकले श्रीनाथमण्डली तथा सिरानचोककोट क्षेत्रभित्रका पदमार्ग, ऐतिहासिक तथा पुरातात्विक सम्पदा र लालीगुराँस झल्कने सामग्री गाउँपालिकामा पठाउनुपर्नेछ।
महोत्सव अन्तर्गत वैशाख १ गते नयाँ वर्षको अवसरमा लालीगुराँस दौड प्रतियोगिता समेत आयोजना गरिनेछ। गाउँपालिकाको केन्द्रबाट सुरु हुने उक्त दौड उपल्लोपाम, राम्चे, श्रीनाथमण्डली हुँदै सिरानचोककोटसम्म पुग्नेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
यसैगरी, चैत २६ गतेदेखि वैशाख १ गतेसम्म स्थानीय कृषि उपज तथा घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण कार्यक्रम पनि सञ्चालन गरिनेछ।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरूङले महोत्सवले सिरानचोक क्षेत्रको पहिचान स्थापित गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। “लालीगुराँसको प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गर्दै यहाँको सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रियस्तरमा चिनाउने हाम्रो लक्ष्य हो,” उनले भने।
उपाध्यक्ष रिता देवकोटाले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताइन्। “कृषि उपज र घरेलु उत्पादनको प्रदर्शनीले स्थानीय किसान र उद्यमीलाई प्रोत्साहन मिल्नेछ,” उनले भनिन्।
प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले महोत्सव सफल बनाउन स्थानीयवासी, सरोकारवाला निकाय र पर्यटक सबैलाई सहभागिताका लागि आग्रह गरे। “महोत्सवले पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने अपेक्षा गरेका छौं,” उनले भने।
महोत्सवले सिरानचोक क्षेत्रको प्राकृतिक सौन्दर्य, विशेषगरी लालीगुराँसको प्रवर्द्धनसँगै आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने