logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

इच्छाकामना गाउँपालिका सडक आश्रित मानवमुक्त घोषणा

इच्छाकामना गाउँपालिका सडक आश्रित मानवमुक्त घोषणा


  • बिहिबार, चैत्र २६ २०८२
  • 2.6K
    SHARES

    चितवन — चितवनको इच्छाकामना गाउँपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गरिएको छ। मानवता प्रवर्द्धन महाअभियानलाई सफल बनाउने उद्देश्यसहित मानव सेवा आश्रमसँगको सहकार्यमा बुधबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई औपचारिक रूपमा सडक आश्रित मानवमुक्त घोषणा गरिएको हो।

    कार्यक्रमकै अवसरमा सडकमा आश्रयविहीन भई कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको स्याहार, सुरक्षा र संरक्षणका लागि मानव सेवा आश्रम भरतपुर र इच्छाकामना गाउँपालिकाबीच सहकार्य गर्ने सम्झौता पनि गरिएको छ। उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र मानव सेवा आश्रमकी महासचिव सुशीला केसीले हस्ताक्षर गरेका छन्।

    सम्झौतापछि अध्यक्ष गुरुङले राज्यको लक्ष्यअनुसार गाउँपालिकालाई सडक मानवमुक्त घोषणा गरिएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापन गरिने जानकारी दिए। उनले गाउँपालिका क्षेत्रभित्र रहेका सडक आश्रित सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखिने बताए।

    मानव सेवा आश्रमकी महासचिव केसीका अनुसार आश्रमको सहयोगमा आगामी २०८३ सालभित्र नेपाललाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त बनाउने लक्ष्य लिइएको छ। हालसम्म गण्डकी र कर्णाली प्रदेशलाई सडक मानवमुक्त घोषणा गरिसकिएको छ। आश्रमले देशभर १३ हजार ४४ जनाको उद्धार गरेको, २३ जिल्लामा ३३ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गरिरहेको र हाल २ हजार २७ जना आश्रममा आश्रित रहेको उनले जानकारी दिइन्। त्यसमध्ये ५ हजार ४९५ जनालाई पारिवारिक पुनर्मिलन र १ हजार ८४ जनाको सामुदायिक पुनःस्थापन गरिएको छ भने १ हजार ७ सय ३ जनाको आश्रममै मृत्यु भएको उनले बताइन्।

    चितवन जिल्लामा हालसम्म १ हजार ११८ जनाको उद्धार गरी आश्रय प्रदान गरिएको छ भने हाल ११५ जना आश्रममा रहेका छन्। तीमध्ये इच्छाकामना गाउँपालिकाबाट ३७ जनाको उद्धार गरिएको जनाइएको छ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सडक मानवमुक्त अभियान घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै यस अभियानमा संलग्न संघसंस्थाहरूलाई धन्यवाद दिए। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page