लमजुङ जिल्लाको क्व्होलासोंथार गाउँपालिका–६, पसगाउँमा १६औँ पसगाउँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सव दुई दिनसम्म सञ्चालन भएको थियो।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय भेषभूषा, परम्परागत नृत्य तथा खानाका परिकारहरू प्रस्तुत गरिएको थियो। साथै चर्चित तथा स्थानीय कलाकारहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको थियो। कलाकारहरू टस बहादुर गुरूङ, केश गुरूङ, अनुज अधिकारी, सावित्री शाही ठकुरी, बत्ती थापा मगर, ममता गुरूङ लगायतले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रमका सभापति गाउँपालिका अध्यक्ष तथा पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्य गुरूङ रहेका थिए भने प्रमुख अतिथिका रूपमा शताब्दी पुरुष कृष्ण प्रसाद गुरूङ तथा शताब्दी महिला दुमाचोङ गुरूङको उपस्थिति रहेको थियो। यसैगरी गाउँपालिका उपाध्यक्ष गमीमाया गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सभापति सूर्य गुरूङले पसगाउँको मौलिक संस्कृति संरक्षण र पर्यटन विकासका लागि महोत्सव महत्वपूर्ण माध्यम भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उपाध्यक्ष गमीमाया गुरूङले स्थानीय उत्पादनको प्रवर्द्धन र महिलाहरूको सहभागिताले गाउँको समग्र विकासमा टेवा पुग्ने बताइन्। उनले महोत्सवले आर्थिक क्रियाकलापलाई समेत चलायमान बनाएको धारणा राखिन्।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले गाउँपालिकाले पर्यटन पूर्वाधार विकासमा प्राथमिकता दिइरहेको जानकारी दिँदै यस्ता कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाइने बताए।
महोत्सवमा स्थानीय उत्पादन तथा सामग्रीहरू समेत प्रदर्शनमा राखिएको थियो। बख्खु, चकटी, झिनुवाको चामल, गुन्द्रुक, चर्खा, सन्धुक, पुन्द्रु, कर्कुली मिज्यो, पुन्द्रो, नारामु च्याँऊ, तामाको डाँला लगायतका सामग्रीहरूले आगन्तुकहरूको ध्यान आकर्षित गरेका थिए।
होमस्टेका संस्थापक स्वर्गीय बलराम गुरूङको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
महोत्सव अन्तर्गत वडा स्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा हिम्पो विकास आमा समूह, भुजुङ प्रथम हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको आयोजकले जनाएको छ।
पसगाउँ सामुदायिक होमस्टेको आयोजनामा सम्पन्न उक्त महोत्सवलाई क्व्होलासोंथार गाउँपालिका, उद्योग तथा पर्यटन मन्त्रालय, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी लिमिटेड काठमाडौं, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, भुजुङले प्रवर्द्धन तथा संरक्षण गरेका थिए।
महोत्सवले पसगाउँलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ भने स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड