काठमाडौँ — राष्ट्रिय सभाको आजको बैठकमा सांसद सम्झना देवकोटाले देशका समसामयिक सामाजिक समस्या, विकास आयोजना तथा राजनीतिक परिस्थितिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
बैठकमा धारणा राख्दै उनले समाजमा बढ्दै गएको घरेलु तथा यौन हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै वास्तविक पीडितको पहिचान गरी न्याय सुनिश्चित गर्न सरकारसँग माग गरिन्। साथै, प्रविधिको दुरुपयोगबाट हुने साइबर बुलिङले व्यक्तिको आत्मसम्मानमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको उनले बताइन्।
सांसद देवकोटाले आफ्नो गृहजिल्ला गोरखाको समग्र विकास तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै गोरखा बजारलाई मनास्लु र चुम भ्याली लगायतका पर्यटकीय गन्तव्यहरूको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्न प्रस्ताव गरिन्। साथै, गोरखाको ऐतिहासिक महत्वलाई संरक्षण गर्न यसलाई ‘लिभिङ हिस्टोरिकल म्युजियम’ का रूपमा विकास गर्नुपर्ने धारणा पनि राखिन्।
विकास परियोजनातर्फ उनले गोरखाकाली रबर उद्योग पुनः सञ्चालन गरी यसको पुरानो गौरव पुनर्स्थापना गर्न, बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत आयोजनालाई गति दिन तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा सार्वजनिक यातायात सेवा शीघ्र सञ्चालन गर्न सरकारसँग आग्रह गरिन्।
त्यसैगरी, नेपाललाई प्राकृतिक, धार्मिक र आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने तथा जडीबुटी र आयुर्वेद क्षेत्रलाई व्यावसायिक रूपमा सुदृढ बनाउनुपर्ने उनले बताइन्।
समसामयिक राजनीतिक प्रसंग उल्लेख गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग समेत गरेकी छन्। सांसद देवकोटाले संसदको रोष्ट्रमबाट जनताका मुद्दा उठाउन पाउनु गौरवको विषय भएको पनि बताइन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी