गोरखा — सिरानचोक गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम सिरानचोक लालीगुराँस मेला २०८२/८३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। चैत्र १६ गतेबाट सुरु भएको मेला नयाँ वर्ष वैशाख १ गते श्रीनाथमण्डली परिसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमसँगै समापन गरिएको हो।
मेलाअन्तर्गत आयोजना गरिएको लालीगुराँस दौड प्रतियोगिता प्रमुख आकर्षणको रूपमा रहेको थियो। गाउँपालिकाको कार्यालय चित्रेपोखरीबाट सुरु भएको १० किलोमिटर लामो दौड सिरानचोककोटस्थित टुडिँखेलमा पुगेर समापन भएको थियो। प्रतियोगितामा २५ भन्दा बढी स्थानीय तथा राष्ट्रियस्तरका धावकहरूको सहभागिता रहेको थियो।
दौडमा कपिलवस्तुका अजय पाण्डे क्षेत्रीले ३७ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । त्यसैगरी तनहुँको आँबुखैरेनीका सनम गुरुङले ३७ मिनेट २९ सेकेन्डमा दोस्रो तथा गोरखाको पालुङटार–३ का सरोज गिरीले ४० मिनेट ११ सेकेन्डमा तेस्रो स्थान हासिल गरे । विजेताहरूलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
सो अवसरमा अन्तर्राष्ट्रिय म्याराथन धावक टीका बहादुर बोगटीलाई सम्मान समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले जानकारी दिए ।
मेलाकै अवसरमा स्थानीय तथा रैथाने कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो। चैत्र २६ देखि ३० गतेसम्म गाउँपालिका प्राङ्गण चित्रेपोखरी तथा नयाँ वर्षको दिन श्रीनाथमण्डली परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा गाउँपालिकाका आठै वडाका कृषकहरूको सहभागिता रहेको थियो। प्रदर्शनीमा सहभागी १७ जना कृषक तथा उद्यमीहरूलाई सम्मान गरिएको थियो।
यसैगरी, लालीगुराँस पदयात्रा कार्यक्रम अन्तर्गत पाँच विभिन्न स्थानबाट श्रीनाथमण्डली क्षेत्रमा पुग्ने गरी रुट निर्धारण गरिएको थियो, जसमा सयौँ पदयात्रीहरूले सहभागिता जनाउँदै लालीगुराँस सहितका प्राकृतिक सम्पदाको अवलोकन गरेका थिए। मेलामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, लालीगुराँस फोटो/भिडियो प्रतियोगिता लगायत विविध कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले मेलाले सिरानचोक क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा आयोजना गरिने बताउनुभयो। उहाँले स्थानीय संस्कृति, प्रकृति र कृषि उत्पादनको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले मेलाले स्थानीय स्तरमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सहयोग पुगेको बताउँदै आगामी दिनमा पर्यटन र स्थानीय उत्पादनको बजारीकरणमा थप ध्यान दिइने जानकारी दिनुभयो।
स्थानीय सरकार, विभिन्न संघ–संस्था तथा समुदायको सक्रिय सहभागितामा सम्पन्न भएको प्रथम सिरानचोक लालीगुराँस मेला क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण