logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

ककनी गाउँपालिकामा ‘एकद्वार सेवा प्रणाली’ सुरु: एउटै काउन्टरबाट सबै सेवा

ककनी गाउँपालिकामा ‘एकद्वार सेवा प्रणाली’ सुरु: एउटै काउन्टरबाट सबै सेवा


  • बिहिबार, बैशाख ३ २०८३
  • 17.1K
    SHARES

    काठमाडौँ — सार्वजनिक सेवामा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र शाखा–शाखा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित ककनी गाउँपालिकाले ‘एकद्वार सेवा प्रणाली (One Stop Service Center)’ सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले एउटै स्थानबाट विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले नागरिकलाई छरितो, पारदर्शी र झन्झटरहित सेवा दिन यो प्रणाली लागू गरिएको बताए। उनका अनुसार अब योजना सम्झौता, भुक्तानी प्रक्रिया, कृषि तथा पशु सेवा, उद्योग–व्यवसाय दर्ता लगायतका सबै सेवा एउटै काउन्टरबाट सञ्चालन हुनेछन्।

    “पहिले सेवाग्राहीले विभिन्न शाखा धाउनुपर्ने बाध्यता थियो, जसले समय र श्रम दुवै खर्च हुन्थ्यो,” राईले भने, “अब एउटै स्थानबाट सेवा प्रवाह हुने हुँदा प्रक्रिया छिटो, सरल र नागरिकमैत्री बन्नेछ।”

    गाउँपालिकाका अनुसार सेवाग्राहीले पेश गरेको फाइल सुरुमा एकद्वार प्रणालीमा दर्ता गरिनेछ। त्यसपछि आवश्यक कागजात सम्बन्धित शाखाबाट आन्तरिक रूपमा नै संकलन गरिनेछ। कुनै कागजात अपुग भएमा सोही स्थानबाट सेवाग्राहीलाई जानकारी दिइनेछ। सम्पूर्ण कागजात पूरा भएपछि फाइल प्रशासकीय शाखा हुँदै सम्बन्धित शाखामा पुगेर प्रक्रिया पूरा गरिनेछ।

    भुक्तानी प्रक्रियामा पनि यस प्रणालीले उल्लेखनीय सहजता ल्याउने अपेक्षा गरिएको छ। आवश्यक कागजात जाँचपछि फाइल लेखा शाखामा पठाइनेछ र अन्ततः ‘इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT)’ मार्फत भुक्तानी गरिनेछ। साथै, आगामी दिनमा फाइल ट्र्याकिङ प्रणालीसमेत लागू गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिका अध्यक्ष सुमन तामाङले यस पहलले सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। “हामीले नागरिकलाई सजिलो, छिटो र पारदर्शी सेवा दिनु हाम्रो पहिलो दायित्व हो,” अध्यक्ष तामाङले भने, “एकद्वार सेवा प्रणालीले ‘यो कोठा, त्यो कोठा’ धाउनुपर्ने अवस्था अन्त्य गर्नेछ र नागरिक सन्तुष्टि बढाउनेछ।”

    गाउँपालिकाले सार्वजनिक प्रशासनप्रति नागरिकको घट्दो विश्वासलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ। कर्मचारीहरूलाई आवश्यक निर्देशन दिइसकिएको र यस अभियानमा जनप्रतिनिधिको पूर्ण साथ रहेको पनि उल्लेख गरिएको छ।

    समग्रमा, ककनी गाउँपालिकाको ‘एकद्वार सेवा प्रणाली’ प्रशासनिक झन्झट घटाउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने र नागरिक सन्तुष्टि अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page