गोरखा: गोरखा दरबार परिसरमा रहेको गोरखनाथ मन्दिरमा २३औँ सवालाख रोट महोत्सव आयोजना हुने भएको छ। महोत्सव बैशाख १८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोजक सिद्धाश्रम शक्ति केन्द्र नेपालकी सावर मातृ (सामा) विन्देश्वरी बरालले जानकारी दिएकी छन्।
गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरालले बैशाखी पूर्णिमाका दिन अर्थात् बैशाख १८ गतेदेखि गोरखनाथ गुफामा सवालाख (१ लाख २५ हजार) रोट महोत्सव सुरु हुने बताइन्। उक्त केन्द्रले वि.सं. २०६१ सालदेखि आध्यात्मिक जागरण तथा विश्व कल्याणका लागि निरन्तर रूपमा रोट महोत्सव आयोजना गर्दै आएको छ।

कार्यक्रमअनुसार बैशाख १८ गते बिहान ८:३० बजे गोरखा सदरमुकामको बैंक रोडस्थित सिद्धाश्रम शक्ति केन्द्रबाट झाँकीसहितको र्याली निकालिनेछ। र्यालीमा १०८ जना कन्याले कलश बोकेर सहभागिता जनाउनेछन् भने गुरु गोरखनाथको रथ पनि समावेश गरिनेछ। विभिन्न जातजातिका बाजागाजा र झाँकीसहितको र्याली पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–रामशाह चौतारो हुँदै गोरखनाथ मन्दिरमा पुगेर समापन हुनेछ।
र्याली समापनअघि मन्दिर अगाडि झण्डोत्तोलन गरिनेछ। त्यसपछि रोट पकाउने कार्य सुरु हुनेछ र शुभ साइत अनुसार गुरु गोरखनाथलाई रोट अर्पण गरिने कार्यक्रम रहेको छ।
यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। विगतमा जस्तै यसपटक पनि नेपालका विभिन्न जिल्लाका साथै भारत र अन्य देशबाट भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
महोत्सव अवधिभर दैनिक रूपमा स्तुति बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन–कीर्तन तथा प्रसाद वितरण गरिनेछ। कार्यक्रम सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
रोट के हो ?
रोट चालम, गहुँ र जौको पिठोमा विभिन्न मसला मिसाएर बनाइने विशेष परिकार हो। यसमा नरिवल, काजु, किसमिस, अलैंची, ल्वाङ, सुकुमेल, मरिच, दालचिनी, मह, घिउ, चिनी लगायत ३२ प्रकारका सामग्री प्रयोग गरिन्छ।
रोट दुई प्रकारका हुन्छन्—भुङ्ग्रे रोट र ताई रोट। भुङ्ग्रे रोट पातमा राखेर आगोमा पकाइन्छ भने ताई रोट घिउमा तारेर बनाइन्छ। ताई रोट प्रायः पृथ्वीको आकारमा बनाइन्छ र बीच भागमा ‘ओमकार’ राख्ने चलन छ, जसलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ। भुङ्ग्रे रोटमा बनाइने नाभीलाई ‘सुमेरु’ भन्ने गरिन्छ।
नाथ सम्प्रदायअनुसार रोट तयार गर्दा विशेष मन्त्र उच्चारण गरिन्छ र गुरु गोरखनाथलाई अर्पण गर्दा पनि विधिपूर्वक पूजा गरिन्छ। स्वादिष्ट र धार्मिक महत्त्व बोकेको रोट महोत्सवमा प्रमुख आकर्षणको रूपमा रहने गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी