रसुवा — ग्रामीण पर्यटन प्रवर्द्धन तथा परम्परागत पशुपालन पेशाको संरक्षण गर्ने उद्देश्यका साथ रसुवाको आमाछोदिङमो गाउँपालिका–३ स्थित पार्वतीकुण्डमा आगामी वैशाख १३ देखि १५ गतेसम्म ‘याक तथा चौंरी महोत्सव’ आयोजना गरिने भएको छ।
गाउँपालिका अध्यक्ष बुर्चुङ तामाङका अनुसार महोत्सवले स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै याक तथा चौंरी पालनजस्तो मौलिक पेशाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। “हाम्रो सान, हाम्रो पहिचान” भन्ने मूल नारामार्फत स्थानीय संस्कृति, परम्परा र पेशाप्रतिको गर्व अभिव्यक्त गर्न खोजिएको उनले बताए।
महोत्सवको अर्को उद्देश्य चौँरीपालनलाई व्यावसायिक बनाउँदै दुग्धजन्य पदार्थ (घिउ, छुर्पी, चिज आदि) को बजारीकरण र पर्यापर्यटन विस्तार गर्नु रहेको आयोजक पक्षको भनाइ छ।
अध्यक्ष तामाङले महोत्सवले स्थानीय किसान तथा गोठालाहरूको मनोबल बढाउनुका साथै उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले यस्ता कार्यक्रमले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
महोत्सव अवधिमा पार्वतीकुण्ड दर्शन, याक चिज उत्पादन अवलोकन, प्राचीन गुम्बा भ्रमण, ज्यार्सा तेन्जो डाँडा हाइकिङ तथा रुबी भ्याली पदयात्राजस्ता गतिविधि सञ्चालन गरिने छन्। साथै, स्थानीय अर्गानिक खानाका परिकार तथा हस्तकला सामग्रीको प्रदर्शनी र बिक्रीसमेत गरिनेछ।
गत्लाङ गाउँ काठका कालो छाना भएका घरका कारण ‘ब्ल्याक भिलेज’का रूपमा परिचित छ। यहाँको तामाङ समुदायको मौलिक जीवनशैली र संस्कृति महोत्सवको प्रमुख आकर्षण रहनेछ।
सांस्कृतिक कार्यक्रमअन्तर्गत लामा नाच, स्याब्रु नाचलगायत परम्परागत झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ, जसले स्थानीय कला–संस्कृतिको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले महोत्सवलाई आगामी दिनमा नियमित कार्यक्रमका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना बनाएको छ। साथै, कृषि–पर्यटन, होमस्टे, हाइकिङ ट्रेल तथा हाइड्रो–पर्यटनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य लिइएको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सांस्कृतिक विविधताले भरिपूर्ण पार्वतीकुण्ड क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न इको–फ्रेन्डली पूर्वाधार विकास र वातावरण संरक्षणमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ।