लमजुङ: समाजमा बढ्दो तडकभडक, सुनप्रतिको अत्यधिक आकर्षण र दाइजो प्रथाले गहिरिँदै गएको अवस्थामा लमजुङको बेसीशहरमा एक जोडीले सादगीपूर्ण विवाह गर्दै सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।
बेसीशहर नगरपालिका–९ पाखाथोककी गोमा अर्याल र चितवनका सागर राउतबीच सोमबार उदिपुरस्थित कालिका मन्दिरमा कुनै पनि दाइजो तथा सुनका गरगहना प्रयोग नगरी विवाह सम्पन्न भएको हो।
विवाह कार्यक्रममा परम्परागत चलनलाई केही परिमार्जन गर्दै दुवै पक्षले सुनका औंठीको सट्टा कुशको औंठी साटासाट गरेका थिए। सामान्यतया विवाहमा देखिने महँगा गहना, भोजभतेर र अन्य खर्चलाई पूर्ण रूपमा त्याग्दै उनीहरूले सरल र अर्थपूर्ण ढंगले वैवाहिक बन्धनमा बाँधिने निर्णय गरेका हुन्।
विवाहमा सहभागीहरूले यो अभ्यासलाई सामाजिक रूपान्तरणतर्फको सकारात्मक कदमका रूपमा लिएका छन्। गोमाका दाजु कुमार अर्यालका अनुसार दाइजो र सुनको अनावश्यक दबाबले निम्न तथा मध्यमवर्गीय परिवारमा आर्थिक बोझ बढिरहेको अवस्थामा यस्ता अभ्यासले सचेतना फैलाउने उद्देश्य राखिएको हो।
उनका अनुसार परम्परागत विवाहमा हुने अत्यधिक खर्चलाई घटाउँदै सुनविहीन र सादगीपूर्ण विवाह गर्दा करिब पाँच लाख रुपैयाँमै सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न सकिने देखिएको छ, जसले अनावश्यक आर्थिक भार घटाउन सहयोग पुर्याउन सक्छ।
स्थानीयवासीहरूले समेत यो विवाहलाई समाजमा सकारात्मक परिवर्तनको सन्देश दिने उदाहरणीय पहलका रूपमा लिएका छन्। उनीहरूका अनुसार यस्ता अभ्यासले दाइजो प्रथा, भड्किलो विवाह संस्कृति तथा आर्थिक असमानता न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
समाजमा देखिएका नकारात्मक परम्परालाई परिमार्जन गर्दै सादा, सरल र सन्देशमूलक विवाह संस्कृतिको प्रवर्द्धन हुन सके दीर्घकालीन रूपमा सकारात्मक सामाजिक परिवर्तन सम्भव हुने सरोकारवालाहरूको भनाइ छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण