गोरखा — गत वर्ष २०८२ मा गोरखा संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या एक लाख ३३ हजार ९९१ पुगेको छ। संग्रहालयका प्रमुख जयनारायण कार्कीका अनुसार उक्त अवधिमा ३० लाख ४५ हजार १९५ रुपैयाँ राजस्व संकलन भएको छ।
नेपाल एकीकरणको उद्गम थलोका रूपमा परिचित गोरखामा ऐतिहासिक अध्ययनका लागि आउने पर्यटकको संख्या उल्लेखनीय रहेको उनले बताए। “संग्रहालयको संरचना, यहाँ रहेका सामग्री, शाह वंशको इतिहास तथा नेपाल एकीकरणसम्बन्धी विषय अध्ययनका लागि विशेषगरी विद्यार्थीहरू आउने गरेका छन्,” उनले भने।
कार्कीका अनुसार गत वर्ष ४४ हजार ७० जना विद्यार्थीले संग्रहालय अवलोकन गरेका छन् भने अन्य सर्वसाधारण आगन्तुकको संख्या ८७ हजार २१९ रहेको छ। त्यस्तै सार्क राष्ट्रबाट १६० र अन्य विदेशी मुलुकबाट २ हजार ५४२ जना पर्यटकले संग्रहालय भ्रमण गरेका छन्।
अवलोकन शुल्कबाट मात्रै गत वर्ष २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको संग्रहालयले जनाएको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा वृद्धि भएको हो। पछिल्ला वर्षहरूमा विद्यार्थीसँगै पर्यटकको संख्या निरन्तर बढ्दै गएको संग्रहालयको भनाइ छ।
संग्रहालय अवलोकनका लागि विद्यार्थीले १० रुपैयाँ, नेपाली नागरिकले २५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। सार्क राष्ट्रका पर्यटकका लागि ५० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
संग्रहालय सातै दिन खुला रहने जानकारी दिँदै प्रमुख कार्कीले अध्ययन, अनुसन्धान तथा भ्रमणका लागि आउने पर्यटकलाई लक्षित गर्दै सेवा तथा व्यवस्थापन सुधारमा जोड दिइएको बताए।