logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष: नेपालले ‘प्लाटिनम जुबिली’ मनाउने

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष: नेपालले ‘प्लाटिनम जुबिली’ मनाउने


  • बिहिबार, बैशाख १७ २०८३
  • 1.4K
    SHARES

    १७ वैशाख, काठमाडौं। मनास्लु र ल्होत्से हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ।

    नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा सञ्चालन हुने कार्यक्रममार्फत उक्त ऐतिहासिक उपलब्धिको स्मरण गर्नुका साथै नेपाललाई विश्व पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

    नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत विविध कार्यक्रम सञ्चालन गरिने जानकारी गराइएको हो। कार्यक्रममा स्वीस र जापानी दूतावासका प्रतिनिधिहरूसहित कूटनीतिक नियोगका अधिकारीहरूको उपस्थिति रहेको थियो।

    सन् १९५६ मा मनास्लु र ल्होत्से हिमालको पहिलो सफल आरोहण सम्पन्न भएको थियो। मनास्लु हिमाल मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अर्न्स्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए।

    उक्त ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप पहिलो आरोहीहरूको सम्झनामा तीनवटा प्रतिमा निर्माण गरी अनावरण गर्ने तयारी गरिएको छ।

    नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष बोधराज भण्डारीले प्लाटिनम जुबिलीका अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूका परिवारलाई विशेष सम्मान गरिने जानकारी दिए। उनका अनुसार कार्यक्रम पर्वतारोहण इतिहासमा योगदान पुर्‍याउने व्यक्तिप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा रहनेछ।

    नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले कार्यक्रम पर्यटन प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। उनका अनुसार मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भई संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ।

    चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको ऐतिहासिक महत्त्व उल्लेख गर्दै हालसम्म तीन हजारभन्दा बढी आरोहीले उक्त शिखर आरोहण गरिसकेको जानकारी दिए। उनले ‘मनास्लु डे’ का अवसरमा पहिलो आरोहीहरूको प्रतिमा अनावरण गरिने बताए।

    नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले प्लाटिनम जुबिलीलाई विश्व पर्वतारोहण समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन भूमिका खेलेको बताए।

    उनका अनुसार कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लु हिमालको थ्री–डी मोडेल अनावरण गरिनेछ। उक्त कार्यक्रममा जापानका राजदूतको प्रमुख आतिथ्य रहने जनाइएको छ।

    प्लाटिनम जुबिलीका अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। चुम उपत्यकाको मौलिक संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सहभागितासहितका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

    यस कार्यक्रमले नेपाललाई विश्व पर्वतारोहण तथा ट्रेकिङ गन्तव्यका रूपमा थप सुदृढ बनाउने विश्वास गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page