काठमाडौं, बैशाख २१ — भन्सार विभागले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनका लागि अनलाइन दर्ता तथा राजश्व भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ।
अर्थ मन्त्रालय अन्तर्गतको विभागले विकास गरेको ‘टेम्पोररी इम्पोर्ट अफ भेहिकल (टीआईभी)’ प्रणालीको शुभारम्भ स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच गर्नुभएको हो।
नयाँ प्रणाली लागू भएसँगै अब भारतीय पर्यटक तथा भारत हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकले आफ्नो सवारी साधनको विवरण अनलाइनमार्फत भर्न र आवश्यक राजश्व तिर्न सक्नेछन्। यसअघि भने भन्सार नाकामै पुगेर अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो।
त्यस्तै, यात्रा अवधि सकिएपछि नवीकरणका लागि पुनः नाकामै जानुपर्ने वा जरिवाना तिर्नुपर्ने बाध्यता पनि हट्ने भएको छ। अब पर्यटकले आफू रहेको स्थानबाटै अनलाइनमार्फत अवधि थप गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएका झन्झट अन्त्य गर्ने उद्देश्यले सेवा सुरु गरिएको बताउनुभयो। उहाँले सरकारले सुशासन र छरितो सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिएको उल्लेख गर्दै पर्यटकमैत्री वातावरण निर्माणमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विभागका महानिर्देशक श्यामप्रसाद मैनालीका अनुसार अब नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनले अनलाइनमार्फत विवरण स्व–घोषणा गर्न सक्नेछन्, जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ।
अनलाइनबाट राजश्व भुक्तानी गरेपछि प्राप्त क्यूआर कोड देखाएर सवारी साधनले भन्सार नाका पार गर्न सक्नेछन्। उक्त क्यूआर कोडकै आधारमा नेपालभर यात्रा गर्न पाइने व्यवस्था गरिएको छ।
विभागका अनुसार यो प्रणाली नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत विकास गरिएको हो। प्रारम्भिक चरणमा यो सेवा भारत तथा बंगलादेशबाट स्थलमार्ग हुँदै आउने पर्यटकका लागि लागू गरिएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण