गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । गाउँपालिकाले वैशाख २४ गते सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणका लागि यस्तो निर्णय गरिएको जनाएको हो ।
गाउँपालिकाको कार्यपालिका बैठक तथा सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, नदी तथा खोलाको बहाव क्षेत्र, सरकारी जग्गा, ऐलानी तथा पर्ती जग्गामा अनुमतिबिना निर्माण गरिएका संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ र दफा ९७ बमोजिम स्थानीय तहलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी दिइएको छ । साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८३ वैशाख १७ गतेको परिपत्रअनुसार पनि सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख लक्ष्मण गुरुङका अनुसार केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरेको भन्ने जनगुनासो आएपछि सूचना जारी गरी समयसीमा तोकिएको हो ।
“पालिकाभित्र अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गराउन सूचना जारी गरेका छौं,” अध्यक्ष गुरुङले भने, “तोकिएको समयभित्र सम्बन्धित पक्षले आफैं संरचना हटाउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।”
सूचनामा प्रकाशित मितिले ३५ दिनभित्र अनधिकृत संरचना हटाउन वा जग्गा खाली गर्न आग्रह गरिएको छ । तोकिएको अवधिभित्र अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।
यस्तै, गाउँपालिकाभित्र बसोबास गर्ने वास्तविक सुकुम्वासीहरूको पहिचान गरी उनीहरूको वैकल्पिक व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरिने पनि सूचनामार्फत जानकारी दिइएको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी