logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

सिरानचोक गाउँपालिकामा दोस्रो विज्ञ सभा हुँदै

सिरानचोक गाउँपालिकामा दोस्रो विज्ञ सभा हुँदै


  • बुधबार, जेष्ठ ६ २०८३
  • 3.3K
    SHARES

    गोरखा — सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, योजना तथा कार्यक्रम निर्माणलाई थप प्रभावकारी, दिगो र कार्यान्वयनमुखी बनाउन ‘दोस्रो सिरानचोक विज्ञ सभा–२०८३’ आयोजना गर्ने भएको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि स्थानीय तहहरू नीति निर्माणदेखि विकास आयोजना कार्यान्वयनसम्म सक्रिय रहँदै आएको सन्दर्भमा सीमित स्रोतसाधनको उच्चतम उपयोग गर्दै समुदायको वास्तविक आवश्यकतामा आधारित दिगो योजना निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वातावरण संरक्षण, सुशासन तथा नीति निर्माणलगायत विविध क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका विज्ञ, विशेषज्ञ, योजनाविद् तथा सरोकारवालाहरूको सुझाव, सल्लाह र मार्गदर्शनलाई समेटेर विकास योजनालाई व्यवहारिक तथा परिणाममुखी बनाउने उद्देश्यले विज्ञ सभा आयोजना गर्न लागिएको हो ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि विज्ञ सभा सञ्चालन गर्दै आएको जनाएको छ । अघिल्लो वर्ष प्राप्त सुझावका आधारमा निर्माण गरिएका योजना तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पनि उल्लेख गरिएको छ ।

    यस वर्षको विज्ञ सभा आगामी जेठ ८, ९ र १० गते सिरानचोक गाउँपालिका–२ स्थित कृषक समूह भवन, नयाँबजार, थालाजुङमा सञ्चालन हुनेछ । कार्यक्रममा गाउँपालिकाका स्थायी बासिन्दा, छिमेकी पालिकाका प्रतिनिधि, देश तथा विदेशमा रहेका सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले विज्ञ सभा गाउँपालिकाको दीर्घकालीन विकासको आधार तयार गर्ने महत्वपूर्ण थलो हुने विश्वास व्यक्त गर्दै सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । उनले अध्ययन, अनुभव र विज्ञताका आधारमा प्राप्त हुने सुझावले गाउँपालिकाको समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

    तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विषयगत छलफल, अन्तर्क्रिया, कार्यशाला तथा प्रतिवेदन प्रस्तुति गरिनेछ । पहिलो दुई दिन गाउँकार्यपालिकाअन्तर्गत रहेका पाँच विषयगत समितिमा विज्ञ, सम्बन्धित शाखाका कर्मचारी तथा सरोकारवालाबीच छुट्टाछुट्टै छलफल हुनेछ । छलफलपछि सञ्चालित योजनाको प्रभावकारिता अध्ययन, नयाँ कार्यक्रमको सिफारिस, क्षेत्रगत मापदण्ड निर्माण तथा दीर्घकालीन योजनाका लागि सुझावसहित प्रतिवेदन तयार गरिने गाउँपालिकाले जनाएको छ ।

    अन्तिम दिन आयोजित मूल विज्ञ सभामा पाँचवटै विषयगत समितिबाट प्राप्त प्रतिवेदन प्रस्तुत गरिनुका साथै विविध विषयमा अन्तरक्रिया तथा छलफल गरिनेछ ।

    सभामा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, वन वातावरण तथा विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छलफल हुनेछ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, जलवायु परिवर्तन, सहकारी, युवा तथा खेलकूद, खानेपानी, सामाजिक समावेशीकरण तथा विपद् व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रमको अन्तिम दिन ‘सिरानचोक विज्ञ समूह’ गठन गर्ने तथा निष्कर्षसहित आगामी कार्यदिशा सार्वजनिक गर्ने कार्यक्रम पनि तय गरिएको छ । गाउँपालिकाले विज्ञहरूको उपलब्धता र समयतालिकाका आधारमा अन्तिम कार्यक्रम तालिका पछि सार्वजनिक गरिने जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page