गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्व अब प्रहरी उपरीक्षक अनिल कुमार खड्काले सम्हाल्ने भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको निर्णयअनुसार सरुवा भई गोरखा आएका एसपी खड्कालाई स्वागत गरिएको हो ।
यसअघि गोरखाको नेतृत्व सम्हाल्दै आउनुभएका प्रहरी उपरीक्षक भरत बहादुर बि.क. को बिदाइसँगै “स्वागत तथा फेरि भेटौँला कार्यक्रम” सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्दै एसपी भरत विकले गोरखामा कार्यरत रहँदाको अनुभव स्मरण गर्दै प्रहरी कर्मचारीहरूको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा कार्यालयबाट भएका विभिन्न कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै नवआगन्तुक एसपी खड्कालाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
त्यसैगरी नवआगन्तुक एसपी अनिल कुमार खड्काले गोरखामा रहँदा एसपी भरत विकले गर्नुभएको कार्यको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले गोरखामा शान्ति सुरक्षा कायम राख्न सबैको सहकार्य आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।