logo

बुधबार, असार १० २०८३

kantipurpationlinetv

२०८३ असार १० बुधबार

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट


  • बुधबार, असार १० २०८३
  • 1.1K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    बुधबार सम्पन्न नवौं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आर्थिक वर्षको आय–व्यय अनुमान प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

    प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षमा चालु खर्चका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । आगामी वर्ष कर्मचारीको तलब वृद्धि, प्रोत्साहन भत्ता तथा अन्य प्रशासनिक दायित्व बढ्ने भएकाले चालु खर्च करिब २८ करोड रुपैयाँले वृद्धि हुने महानगरले जनाएको छ । यो चालु वर्षको तुलनामा करिब ९ प्रतिशत बढी हो ।

    यस्तै, चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्ष उक्त शीर्षकमा ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ मात्र छुट्याइएको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने पुँजीगत अनुदानमा कमी आएकाले पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको उपप्रमुख शाक्यले बताइन् ।

    महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धन, स्थानीय स्रोत–साधनको संरक्षण तथा प्रभावकारी परिचालन, सार्वजनिक जग्गाको संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

    त्यस्तै सम्पदा, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन, अपांगता मैत्री पूर्वाधार तथा सेवा विस्तार, युवा तथा खेलकुद विकास, बालमैत्री कार्यक्रम, विपद् उद्धार तथा व्यवस्थापन, उद्यमशीलता विकासमार्फत रोजगारी प्रवर्द्धन र गरिबी न्यूनीकरणका कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

    बजेटका लागि स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ तथा बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक राजस्व, मालपोत, रजिस्ट्रेसन शुल्क, मनोरञ्जन करलगायत शीर्षकबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको छ ।

    यसैगरी, विकास निर्माणमा जनसहभागितामार्फत ६ करोड रुपैयाँ तथा अन्तरसरकारी अख्तियारीबाट १ अर्ब ६ करोड २० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बजेट कार्यान्वयनका क्रममा अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने महानगरले जनाएको छ ।

    राजस्व संकलन सुदृढीकरणका लागि करको दायरा विस्तार, कर सचेतना कार्यक्रमको निरन्तरता, राजस्व चुहावट नियन्त्रण तथा बक्यौता असुलीलाई प्राथमिकतामा राखिएको उपप्रमुख शाक्यले बताइन् । वडा कार्यालयमार्फत कर संकलनको क्षेत्र विस्तार गरिएकाले आगामी वर्ष राजस्व संकलनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

    महानगरले आगामी आर्थिक वर्षको असोज मसान्तभित्र सम्पत्ति कर तथा भूमिकर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । साथै, एकल महिला, दलित तथा अपांगता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

    नर्सरी, फलफूल तथा तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट दिइने भएको छ । त्यसैगरी, विश्व सम्पदा क्षेत्रभित्र मापदण्डअनुसार निर्माण गरिएका घरलाई सम्पत्ति करमा सहुलियत उपलब्ध गराइने तथा निजी क्षेत्रबाट सार्वजनिक प्रयोजनका लागि पार्किङ व्यवस्थापन गर्ने संरचनालाई नक्सापास दस्तुरमा छुट प्रदान गरिने महानगरले जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page