गोरखा — उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ७९ लाख १३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार आयोजित गाउँसभामा उपाध्यक्षले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ७७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, राजस्व बाँडफाँटबाट १२ करोड ४४ लाख ७९ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ १२ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८८ लाख ५९ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट १ करोड १ लाख ५१ हजार रुपैयाँ, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले आन्तरिक राजस्वबाट २ करोड १३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यसमेत लिएको छ।
कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत किसानलाई बीउबिजन, कृषि औजार, प्रविधि तथा तालिम उपलब्ध गराउन ८ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्राकृतिक विपत्तिबाट उत्पन्न समस्याको व्यवस्थापनका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ भने विगतमा सञ्चालन भएका योजना तथा कार्यक्रमको मर्मतसम्भारका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
जनप्रतिनिधि तथा कर्मचारीलाई कानुनी रूपमा सक्षम र सशक्त बनाउन तालिम सञ्चालनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। विकट भौगोलिक अवस्थालाई मध्यनजर गर्दै कार्यक्षेत्रमा खटिने जनप्रतिनिधि तथा कर्मचारी घाइते भएमा आपतकालीन उद्धारका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी, कर्मचारी सेवा निवृत्त सुविधा कोष स्थापना गर्न २० लाख रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ। महिलाका लागि नेतृत्व विकास तथा भाषणकला तालिम सञ्चालन गर्न ५ लाख रुपैयाँ, युवा लक्षित खेलकुद कार्यक्रमका लागि ३ लाख रुपैयाँ तथा गाउँपालिकास्तरीय फुटबल र भलिबल प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
झोलुंगे पुलको मर्मत तथा सम्भारका लागि १० लाख रुपैयाँ र वडाको सम्भावनाअनुसार उन्नत जातका बीउबिजन अनुदानमा उपलब्ध गराउन ८ लाख रुपैयाँ छुट्याइएको छ।
गाउँपालिकाले प्रशासनिक भवन निर्माणलाई निरन्तरता दिन १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमसँग साझेदारी गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ।
शिक्षा, स्वास्थ्य, पर्यटन तथा समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा स्रष्टालाई सम्मान गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, विभिन्न पदमार्गको स्तरोन्नति तथा सुरक्षित पदमार्ग निर्माणका लागि ४० लाख रुपैयाँ र कर्मचारीलाई गाउँपालिकामै टिकाइराख्ने उद्देश्यले कर्मचारी आवास कार्यक्रमका लागि १० लाख रुपैयाँ छुट्याइएको बजेट वक्तव्यमा उल्लेख छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण