काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको नगर सभाको १५औँ अधिवेशनअन्तर्गत तेस्रो बैठक नगरपालिकाको सभाहल, हात्तीगौंडामा सम्पन्न भएको छ। नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी आर्थिक वर्षको बजेट, विनियोजन तथा आर्थिक विधेयकमाथि विस्तृत छलफल गरिएको छ।
बैठकमा नगर उपप्रमुख तथा नगरसभा उपाध्यक्ष अनिता लामाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ३ अर्ब ४५ करोड बराबरको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सेवा प्रवाह सुधार, वातावरण संरक्षण तथा स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
नगर प्रवक्ता नवराज भट्टराईले आ.व. ०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै राजस्व संकलन, खर्च व्यवस्थापन तथा विकास निर्माणका उपलब्धिबारे जानकारी गराउनुभयो।
बैठकमा विनियोजन विधेयक २०८३ र आर्थिक विधेयक २०८३ औपचारिक रूपमा पेश गरिएको थियो। साथै आ.व. ०८१/०८२ को वास्तविक आय–व्यय विवरण तथा आ.व. ०८३/०८४ को प्रस्तावित आय–व्यय अनुमान पनि सभा समक्ष प्रस्तुत गरिएको थियो।
बैठक राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। अन्तमा आगामी बैठकको मिति तय गर्दै अधिवेशन स्थगन गरिएको घोषणा गरिएको छ। सहभागीहरूले बैठकलाई आर्थिक पारदर्शिता, सुशासन तथा योजनाबद्ध विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।