गोरखा । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित आँपपिपल अस्पतालले बिरामी तथा सेवाग्राहीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गर्दै आएको अस्पताल बस सेवाको साप्ताहिक रुट तालिका सार्वजनिक गरेको छ।
अस्पताल प्रशासनका अनुसार साताको पाँच दिन विभिन्न गाउँ तथा बस्तीलाई समेटेर बस सेवा सञ्चालन गरिनेछ। सार्वजनिक गरिएको तालिकाअनुसार सोमबार ठाँटिपोखरी–हवाईग्राउण्ड हुँदै कालामाटासम्म, मंगलबार थालाजुङ–नयाँबजार–धारापानी–थुम्की हुँदै छोप्राक मैदानसम्म बस सेवा सञ्चालन हुनेछ।
त्यस्तै बुधबार हर्मी–धादीगाउँ–घुरेडिही–मुगे–पाण्डेवेशी–बोराङखोला–गुन्टार–भण्डारथोक–कदली हुँदै ठाँटिपोखरीसम्म सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।
बिहीबार ठाँटिपोखरी–राधाकृष्ण–नयाँगाउँ हुँदै बाह्रपिर्केसम्म तथा शुक्रबार बड्डाँडा–लुइँटेल–पुतलीखेत–बुढीचौर हुँदै चापाभन्ज्याङसम्म बस सेवा सञ्चालन गरिनेछ।
अस्पतालका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई अस्पतालसम्मको पहुँच सहज बनाउन तथा बिरामीमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन बस सेवा सञ्चालन गरिएको हो।
वर्षायामका कारण सडकको अवस्था प्रतिकूल भएमा तोकिएका सबै स्थानसम्म नियमित सेवा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले सेवाग्राहीलाई आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अस्पतालले अनुरोध गरेको छ।
आँपपिपल अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित आगामी दिनमा पनि नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने जनाएको छ।

-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ