गोरखा । शहिद लखन गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६३ करोड ४७ लाख ३१ हजार बराबरको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको छ।
गाउँसभामा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष इन्दिरा तिवारीले बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए।
गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आयलाई आधार बनाएर बजेट निर्माण गरेको जनाएको छ। कुल बजेटमध्ये चालुतर्फ ४९ करोड ५९ लाख ६० हजार र पूँजीगततर्फ १३ करोड ६६ लाख २१ हजार विनियोजन गरिएको छ।
स्वीकृत नीति तथा कार्यक्रममा शिक्षा क्षेत्र सुधारलाई प्राथमिकता दिँदै शिक्षकहरूको क्षमता विकास तथा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ। साथै कम्तीमा एक सामुदायिक माध्यमिक विद्यालयलाई आवश्यक पूर्वाधारसहित सञ्चालन गर्ने र लक्षित विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन गर्ने योजना अघि सारिएको छ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धनतर्फ मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने तथा ऐतिहासिक लखन किल्लाको संरक्षणका लागि संग्रहालय तथा स्मारक निर्माण गर्ने नीति समेत लिएको छ।
त्यसैगरी स्वास्थ्यतर्फ गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गर्ने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने नीति कार्यक्रममा उल्लेख छ। कृषि क्षेत्रतर्फ एक वडा एक तरकारी नर्सरी कार्यक्रम सञ्चालन गर्ने योजना समेत गाउँपालिकाले सार्वजनिक गरेको छ।
गाउँसभामा विभिन्न समितिहरूका प्रतिवेदनहरू समेत प्रस्तुत भई छलफलपछि पारित भएका छन्। गाउँपालिकाले स्वीकृत नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी कार्यान्वयन गर्दै समृद्ध शहीदलखन निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
-
गायक सचिन भट्टराई ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित
-
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ