गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ करोड २८ लाख ६८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा अध्यक्ष विष्णु प्रसाद भट्टले नीति तथा कार्यक्रमसहित वार्षिक बजेट प्रस्तुत गरेका हुन्।
अध्यक्ष भट्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। गाउँपालिकाले दिगो, समावेशी तथा परिणाममुखी विकासलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ।
सार्वजनिक बजेटअनुसार सामाजिक विकास क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ। कुल बजेटको ४९.८१ प्रतिशत सामाजिक विकास क्षेत्रमा विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा तथा मानव विकाससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, सडक तथा पूर्वाधार विकासतर्फ १७.५६ प्रतिशत बजेट विनियोजन गरिएको छ। गाउँपालिकाभित्र सडक सञ्जाल विस्तार, स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिइने भएको छ।
आर्थिक विकास क्षेत्रका लागि ४.७८ प्रतिशत बजेट छुट्याइएको छ। कृषि, पशुपालन, पर्यटन तथा उद्यमशीलता प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी संस्थागत विकास तथा सुशासनतर्फ ७.९० प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ०.५२ प्रतिशत तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ १९.४३ प्रतिशत बजेट विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी वर्ष सुशासन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणलाई विकासको प्रमुख आधार बनाउने जनाएको छ। स्थानीय आवश्यकतामा आधारित योजना कार्यान्वयन गर्दै ‘समृद्ध बारपाक सुलिकोट’ निर्माणको लक्ष्यसहित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको अध्यक्ष भट्टको भनाइ छ।
गाउँसभाबाट नीति तथा कार्यक्रम तथा बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढ्ने गाउँपालिकाले जनाएको छ।
स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिरहेका बेला बारपाक सुलिकोटले सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र आधारभूत सेवाको पहुँच विस्तारलाई मुख्य लक्ष्य बनाएको देखिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान