logo

शनिबार, असार १३ २०८३

kantipurpationlinetv

२०८३ असार १३ शनिबार

बेसीशहर नगरपालिकाले ल्यायो ८६ करोड ४७ लाख रुपैयाँको बजेट

बेसीशहर नगरपालिकाले ल्यायो ८६ करोड ४७ लाख रुपैयाँको बजेट


  • शनिबार, असार १३ २०८३
  • 77
    SHARES

    लमजुङ:  लमजुङको बेँसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८६ करोड ४७ लाख २९ हजार १० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख पदमा गुरुङले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्। प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले आर्थिक विधेयक तथा विनियोजन विधेयक सभामा पेश गरेका थिए।

    नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख गुमानसिंह अर्यालले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सुशासन, पूर्वाधार विस्तार तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए।

    उपप्रमुख गुरुङका अनुसार आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको प्रस्तावित अनुमानभन्दा १०.०९ प्रतिशत तथा संशोधित अनुमानभन्दा ४.६५ प्रतिशतले बढी रहेको छ। बजेट व्यवस्थापनका लागि आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानलाई आधार बनाइएको छ।

    नगरपालिकाले आगामी आर्थिक वर्षमा सडक पूर्वाधारको स्तरोन्नति, प्रविधिमैत्री तथा गुणस्तरीय सेवा प्रवाह, सुशासन, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, कृषि तथा उद्यमशीलता प्रवर्द्धन र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

    क्षेत्रगत बजेट विनियोजनअनुसार आर्थिक विकासतर्फ ४ करोड ३१ लाख ४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३६ करोड ६१ लाख १८ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २३ करोड १४ लाख ७६ हजार ९१० रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४ करोड ४ लाख २६ हजार रुपैयाँ तथा संस्थागत विकास एवं सुशासनतर्फ १७ करोड २१ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

    नगरपालिकाका अनुसार प्रस्तुत बजेटले सडक पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि तथा उद्यमशीलताको विकास तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहमार्फत स्थानीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page