logo

मंगलबार, असार १६ २०८३

kantipurpationlinetv

२०८३ असार १६ मंगलबार

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामा चुमनुब्री गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामा चुमनुब्री गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त


  • मंगलबार, असार १६ २०८३
  • 84
    SHARES

    गोरखा — विश्व कीर्तिमानी पर्वतारोही फुञ्जो झाङ्मु लामालाई आफ्नै जन्मथलो चुमनुब्री गाउँपालिकाले पर्यटन सद्भावना दूत (गुडविल एम्बेसेडर) नियुक्त गरेको छ।

    हालै सम्पन्न गाउँसभाले सर्वसम्मत रूपमा लामालाई पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।

    गाउँपालिकाले यस वर्ष विश्वको आठौँ अग्लो हिमाल मनास्लुको पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको अवसरलाई हिरक वर्षका रूपमा मनाइरहेको छ। सोही अवसरमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले फुञ्जोलाई पर्यटन सद्भावना दूत बनाइएको अध्यक्ष लामाले बताए।

    ‘नेपाल र हिमालको पहिचानलाई विश्वभर स्थापित गर्न फुञ्जोले पुर्‍याएको योगदान प्रेरणादायी छ। उहाँजस्तो व्यक्तित्वलाई पर्यटन सद्भावना दूत बनाउन पाउँदा हामी गौरवान्वित छौँ,’ उनले भने।

    अध्यक्ष लामाका अनुसार सद्भावना दूतका रूपमा फुञ्जोले मनास्लु क्षेत्रको प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको प्रवर्द्धनमा सहकार्य गर्नेछिन्।

    आफ्नो जन्मथलोबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै फुञ्जोले चुमनुब्री र मनास्लु क्षेत्रलाई विश्व पर्यटन बजारमा थप चिनाउने प्रतिबद्धता जनाइन्।

    ‘यो मेरो लागि ठूलो सम्मान हो। मेरो जन्मभूमिको पर्यटन प्रवर्द्धनका लागि म सक्दो योगदान गर्नेछु,’ उनले भनिन्।

    मनास्लु हिमालका अतिरिक्त चुमनुब्री गाउँपालिका जैविक विविधता, तिब्बती बौद्ध संस्कृति र मौलिक परम्पराका लागि परिचित छ। अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरिसकेको चुमनुब्रीले जैविक विविधता तथा परम्परागत संरक्षण प्रणालीलाई संस्थागत गर्न ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ समेत लागू गरेको छ।

    स्विस आल्प्स र नेपालको हिमालय क्षेत्रमा पर्वतारोहण तालिम प्राप्त गरेकी फुञ्जोले सन् २०२४ मा आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमै सगरमाथाको सफल आरोहण गर्दै सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिलाको विश्व कीर्तिमान कायम गरेकी थिइन्।

    चुमनुब्री गाउँपालिका–७ छोकाङपामा जन्मिएकी उनले सगरमाथा, ल्होत्से, मनास्लु, चो ओयु, आमा दबलाम, लोबुचे र डेनालीसहित विश्वका विभिन्न हिमालको सफल आरोहण गरिसकेकी छन्। पर्वतारोहणसँगै उनी ग्रामीण तथा सीमान्तकृत समुदायको शिक्षा, जीविकोपार्जन र दिगो विकासका क्षेत्रमा पनि सक्रिय रूपमा योगदान दिँदै आएकी छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page