logo

मंगलबार, असार १६ २०८३

kantipurpationlinetv

२०८३ असार १६ मंगलबार

जिल्लाभर ४३ हजार बिरुवा निःशुल्क वितरण गर्दै डिभिजन वन कार्यालय गोरखा

जिल्लाभर ४३ हजार बिरुवा निःशुल्क वितरण गर्दै डिभिजन वन कार्यालय गोरखा


  • मंगलबार, असार १६ २०८३
  • 77
    SHARES

    गोरखा । डिभिजन वन कार्यालय गोरखाले जिल्लाभर करिब ४३ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ। वन क्षेत्र विस्तार, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा वितरण गर्न लागिएको हो।

    कार्यालय प्रमुख मदनमोहन शाण्डिल्यका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा उत्पादन गरिएका बहुवर्षीय बिरुवा तथा चालु आर्थिक वर्ष २०८२/८३ मा उत्पादन गरिएका नयाँ बिरुवा वितरण गरिनेछ। चालु आर्थिक वर्षमा मात्रै करिब २६ हजार बिरुवा उत्पादन गरिएको उनले बताए।

    निःशुल्क वितरण गरिने बिरुवामा काष्ठजन्य, फलफूलजन्य, डालेघाँस, सौन्दर्यमूलक, जडीबुटीजन्य तथा सांस्कृतिक महत्वका प्रजाति समावेश छन्। खयर, सिसौ, बकाइनो, सल्लो, चाँप, अम्बा, अमला, लप्सी, ओखर, अमिलो, राईखन्यु, निमारो, टाँकी, किम्बु, बडहर, इपिल–इपिल, धुपी, पारिजात, गोलमोहर, अशोक, टिमुर, निम, शीतलचिनी, चिउरी, श्रीखण्ड, लौठसल्ला, वर, पीपल, समी र बेललगायतका बिरुवा वितरण गरिने कार्यालयले जनाएको छ।

    बिरुवा पालुङटार सब–डिभिजन वन कार्यालयको नर्सरी, ठाँटीपोखरी, गोरखा नगरपालिका–१३ स्थित डिभिजन वन कार्यालयको नर्सरी, तीनकिलो तथा गण्डकी सब–डिभिजन वन कार्यालयको सिउरेनीटार नर्सरीबाट वितरण गरिनेछ। आगामी असार २० गतेदेखि वितरण सुरु हुने भएकाले इच्छुक सेवाग्राहीले आवश्यक कागजातसहित आफूलाई पायक पर्ने वितरण केन्द्रमा सम्पर्क गर्न सक्ने शाण्डिल्यले बताए।

    यसैबीच, डिभिजन वन कार्यालयले राष्ट्रिय वृक्षारोपण दिवस–२०८३ को अवसरमा आइतबार गोरखा नगरपालिका–९ टक्सारस्थित कुवाडी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सरकारको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ अन्तर्गत आयोजित कार्यक्रममा अमला, लप्सी, अम्बालगायत फलफूलजन्य बिरुवा रोपिएको हो।

    कुवाडी सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर गुरुङले वनभित्रै वन्यजन्तुका लागि खाद्य स्रोतको व्यवस्था गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले फलफूलजन्य बिरुवा रोपिएको बताए।

    यस्तै, डिभिजन वन कार्यालयले गोरखा नगरपालिकाको आर्थिक सहयोगमा थप १४ हजार बिरुवा उत्पादन गरेको जनाएको छ। नगरवासीको आवश्यकता अनुसार विभिन्न प्रजातिका बिरुवा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page