१० असार, काठमाडौं । तारकेश्वर नगरपालिका–८ अन्तर्गत लामबगर शिवमन्दिरदेखि जरंखुसम्म पर्ने महादेव खोला करिडोरमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउँदै करिडोर क्षेत्र खाली गरिएको छ।
नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको नेतृत्वमा बुधबार बिहान ८:३० बजेदेखि सुरु भएको संरचना हटाउने अभियान राति ८:३० बजे सम्पन्न भएको थियो। अभियानका क्रममा तीन वटा डोजर प्रयोग गरी दुई वटा पक्की घर पूर्ण रूपमा, दुई वटा घरमा आंशिक रूपमा तथा दुई वटा टहरा पूर्ण रूपमा हटाइएको नगरपालिकाले जनाएको छ।
महादेव खोला करिडोर १० मिटर मापदण्डअनुसार संरक्षण गरिने क्षेत्र हो। करिडोरभित्र परेका केही घरधनीसँग जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) भए पनि संघीय सरकारको नीति तथा सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत करिडोर क्षेत्र खाली गरिएको नगरपालिकाको भनाइ छ।
संरचना हटाउने अभियानमा सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक तथा उपप्रमुख सृजना बुर्लाकोटी, सदस्य–सचिव तथा भूमि शाखा प्रमुख तीर्थ थापामगर, सिडिई लब कार्की, इन्जिनियर उज्ज्वल न्यौपाने, वडा नं. ८ का वडा सदस्य लक्ष्मी रैला, मोहन खत्री, वडा अध्यक्ष श्यामकृष्ण सापकोटालगायत अन्य जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो।
नगरपालिकाले जरंखु–शिवमन्दिर करिडोर सडक निर्माणका लागि लामो समयदेखि सूचना जारी गर्दै सम्बन्धित घरधनीलाई घर तथा टहरा हटाउन आग्रह गर्दै आएको जनाएको छ। पटक–पटकको आग्रहपछि पनि संरचना नहटाइएपछि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक तथा अमिनसहितको टोलीले अन्तिम सूचना जारी गरेको थियो। त्यसपछि सार्वजनिक जग्गा संरक्षण समितिले अभियान सञ्चालन गरी करिडोर क्षेत्र खाली गराएको हो।
नगरपालिकाका अनुसार अभियानपछि काभ्रेस्थली, ढकालचौर तथा तारकेश्वर–३ लगायतका क्षेत्रका स्थानीयले पनि सार्वजनिक जग्गा संरक्षण तथा खोला करिडोर खुला गर्ने कार्यलाई निरन्तरता दिन माग गरेका छन्।
सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक सृजना बुर्लाकोटीले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने बताइन्। उनले खोला करिडोर संरक्षण, फुटपाथमा बनाइएका भर्याङ हटाउने, उच्च भोल्टेज (हाइटेन्सन) प्रसारण लाइनमुनि निर्माण गरिएका संरचना हटाउने तथा सार्वजनिक जग्गामा अनधिकृत रूपमा सञ्चालन गरिएका व्यवसायमाथि पनि नगरपालिकाले आवश्यक कारबाही अघि बढाउने जानकारी दिइन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान