अजिरकोट गाउँपालिकामा सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रमलाई थप सुरक्षित, स्वच्छ र पोषणयुक्त बनाउने उद्देश्यले खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँको आयोजनामा सोमबार तालिम सञ्चालन गरिएको हो।
तालिममा गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक विद्यालयका दिवा खाजा कार्यक्रममा कार्यरत कर्मचारी तथा कार्यक्रमको जिम्मेवारी सम्हाल्ने शिक्षक प्रतिनिधिसहित ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई खाद्य स्वच्छता, पोषण, खाद्य सामग्रीको सुरक्षित छनोट, भण्डारण, तयारी तथा वितरणसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा अन्न तथा दलहनबाट बन्ने सर्वोत्तम पोषिलो पिठो तयार गर्ने प्रयोगात्मक विधिसमेत सिकाइएको थियो। साथै दिवा खाजामा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर, स्वच्छ खाना पकाउने तरिका, सुरक्षित रूपमा विद्यार्थीलाई खाना वितरण गर्ने प्रक्रिया, कृत्रिम रङको प्रयोग नगर्ने, मसीयुक्त कागज वा पत्रपत्रिकामा खाद्य सामग्री नराख्ने, फ्रिजको सही प्रयोग गर्ने तथा सरकारले गोरखा जिल्लाका लागि निर्धारण गरेको मेनुअनुसार दिवा खाजा तयार गर्ने विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका प्रमुख खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले अस्वच्छ तथा असन्तुलित खानपानका कारण फुड पोइजनिङ, दीर्घरोग तथा मोटोपनजस्ता स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने भएकाले विद्यालयस्तरमा खाद्य स्वच्छता र पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको जानकारी दिए।
तालिम समापन कार्यक्रममा अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, शिक्षा शाखा प्रमुख सिताराम पन्त तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा