तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घामा निर्माण हुन लागेको उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भानु नगरपालिकाले गत पुसमा स्वीकृत गरेको थियो। नगरपालिकाले उक्त क्षेत्रलाई ‘सप्तधाम’का रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार स्वीकृत गुरुयोजनाअनुसार उद्यान निर्माणका लागि करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको उनले बताए।
उनका अनुसार उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको सडक स्तरोन्नति गरी कालोपत्रे गरिनेछ। साथै ५४ फिट अग्लो आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण गरिनेछ।
गुरुयोजना कार्यान्वयनका लागि हालसम्म करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ।
उद्यानमा भानुभक्तको विशाल प्रतिमा, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र तथा साहित्यिक पदमार्ग निर्माण गर्ने योजना छ।
नगरप्रमुख त्रिपाठीले भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गुरुयोजना अघि बढाइएको बताए। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भानुभक्तको पहिचानलाई थप स्थापित गर्ने गरी पूर्वाधार विकास गरिनेछ।
नगरपालिकाका अनुसार साहित्य उद्यान निर्माणका लागि पछिल्ला दुई आर्थिक वर्षमा एक करोड ८० लाख ४१ हजार ५०० रुपैयाँ खर्च भइसकेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण