तनहुँ— तनहुँको भानु नगरपालिकाबाट आगामी साउन १ गतेदेखि मालपोतसम्बन्धी सेवा सञ्चालन हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने उद्देश्यले देशभरका २१४ स्थानीय तहबाट प्राप्त प्रस्तावमध्ये पहिलो चरणमा ३५ स्थानीय तह छनोट गरेकोमा भानु नगरपालिका पनि परेको हो।
नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार आवश्यक तयारी पूरा गरी साउन १ गतेदेखि सेवा सञ्चालनमा ल्याइनेछ। सेवा सञ्चालनका लागि कार्यपालिका बैठकले वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई मालपोत शाखा प्रमुखको जिम्मेवारी तोकेको उपप्रमुख उमा गोतामेले जानकारी दिइन्।
नगरपालिकाका अनुसार भूमि शाखा स्थापना भइसकेको भए पनि केही प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा छ। वरिष्ठ प्रशासकीय अधिकृत पाण्डेका अनुसार थ्री–फेज विद्युत् मिटर जडानलगायतका प्राविधिक काम सम्पन्न हुन बाँकी छ।
मालपोत कार्यालय तनहुँले सेवा सञ्चालनका लागि आवश्यक कर्मचारीको नामसमेत सिफारिस गरिसकेको र तयारी पूरा भएपछि एक जना कर्मचारी नगरपालिकामा खटिने जनाइएको छ।
सेवा सञ्चालनमा आएपछि नगरवासीले जग्गा किनबेच दर्ता (पास), अंशबण्डा, बकसपत्र तथा दानपत्र दर्ता, घरजग्गा रोक्का तथा फुकुवा, धितो दर्ता तथा फुकुवा, लालपुर्जा विवरण सच्याउने, मालपोत कर तिर्ने, जग्गाको नक्सा, स्रेस्ता तथा कित्ता विवरण प्राप्त गर्ने, जग्गा एकीकरण तथा कित्ताकाटलगायतका सेवा नगरपालिकाबाटै प्राप्त गर्न सक्नेछन्।
यसका साथै मोही, गुठी तथा सरकारी जग्गासम्बन्धी प्रशासनिक प्रक्रिया र डिजिटल अभिलेख तथा अनलाइन सेवामा समेत स्थानीयस्तरबाट सहजीकरण हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाबाटै मालपोत सेवा सञ्चालन भएपछि सेवा लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य हुने, समय र लागत दुवैको बचत हुने तथा सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान