तनहुँ — तनहुँको भानु नगरपालिकाले सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको छ।
नगरपालिकाको आयोजना तथा मानव, पशु र बाली संरक्षणका लागि युवा चितवनको प्राविधिक सहयोगमा भानु नगरपालिका–२ गोठेरीमा आयोजित शिविरमार्फत १३२ कुकुरको बन्ध्याकरण तथा १३८ कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको हो।
नगरपालिकाका अनुसार डुम्रे बजार, भन्सार, चाम्बास, खहरे, भकुण्डोक, नारेश्वटार, कुमाल गाउँ, चुँदी, सेपाबगैँचा, स्याउली पसल, टुहुरेपसललगायत क्षेत्रबाट सामुदायिक कुकुर संकलन गरी बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालन गरिएको थियो।
पशुपन्छी तथा मत्स्य विकास शाखाका मत्स्य प्राविधिक सन्देश बास्तोलाका अनुसार नगर क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढ्दै गएको र रेबिज संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
बन्ध्याकरणपछि कुकुरलाई केही समय निगरानीमा राखी स्वास्थ्य अवस्था सामान्य भएपछि समातिएको स्थानमै फर्काएर छाडिएको पशु सेवा प्राविधिक अमित ढुंगानाले जानकारी दिए। उनका अनुसार बन्ध्याकरण वा खोप लगाइएका कुकुरको कानमा ‘इयर नोच’ संकेतसमेत गरिएको छ, जसबाट पुनः समात्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्य राखिएको छ।
नगरपालिकाले छाडा कुकुरको संख्या नियन्त्रण गर्ने प्रभावकारी उपाय बन्ध्याकरण र नियमित रेबिजविरुद्धको खोप अभियान नै भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
वडा नं. १ का अध्यक्ष तथा नगर कार्यपालिकाको आर्थिक विकास समिति सदस्य कान्छीमाया तामाङले छाडा कुकुर व्यवस्थापनका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै घरपालुवा कुकुरलाई जथाभावी छाड्ने प्रवृत्ति नियन्त्रण गर्न पनि सचेतना आवश्यक रहेको बताइन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण