logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक


  • शनिबार, असार २० २०८३
  • 3K
    SHARES

    लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो मर्स्याङ्दी’ नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ।

    गाउँपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल तथा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष तिलबहादुर गुरुङले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

    आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि तयार गरिएको पाठ्यपुस्तकले स्थानीय इतिहास, भूगोल, भाषा, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा–व्यवसाय, यातायात, भौतिक पूर्वाधार, जीवनोपयोगी सीप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार तथा समसामयिक विषयवस्तुबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए।

    उनका अनुसार पाठ्यपुस्तक निर्माणमा गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक, जनप्रतिनिधि, शिक्षा समिति तथा लेखक–सम्पादकहरूको सक्रिय सहभागिता रहेको थियो। विस्तृत अध्ययन, छलफल, विश्लेषण तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा स्थानीय पाठ्यक्रमले निर्धारण गरेका मापदण्डअनुसार पुस्तकलाई अन्तिम रूप दिइएको हो।

    गाउँपालिकाले चार वर्षअघि स्थानीय पाठ्यक्रम लागू गर्दै कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरेको थियो। चालु शैक्षिक सत्रदेखि उक्त पाठ्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्दै सोहीअनुसार ‘हाम्रो मर्स्याङ्दी’ पाठ्यपुस्तक तयार गरिएको हो। हाल गाउँपालिकाभित्रका ५५ विद्यालयमा यो पाठ्यपुस्तकबाट पठनपाठन भइरहेको गाउँपालिकाले जनाएको छ।

    पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएका छन्। यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ।

    पुस्तकका लेखक अनिल सिग्देल, निर्मला भट्टराई, सरस्वती सिग्देल, रामचन्द्र घिमिरे, प्रेम भट्टराई र इन्दु पराजुली रहेका छन्। लेखन सम्पादन तथा डिजाइन कृष्णराम उपाध्यायले गरेका हुन् भने सम्पादन ऋषिराम श्रेष्ठ र ईश्वरबाबु पाण्डेले गरेका छन्।

    गाउँपालिकाले स्थानीय ज्ञान, पहिचान र संस्कृतिलाई विद्यालय शिक्षासँग जोड्ने उद्देश्यसहित तयार गरिएको यो पाठ्यपुस्तक शिक्षा क्षेत्रको महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ। पुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज, संस्कृति र सम्पदाप्रति अपनत्व, गर्व तथा जिम्मेवारीको भावना विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरेको छ।

    पाठ्यपुस्तक निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने लेखक, सम्पादक, विज्ञ, शिक्षक, जनप्रतिनिधि तथा सहयोगी सबैप्रति गाउँपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

    यसैबीच, मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६८ करोड ८७ लाख १८ हजार ५ सय रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार : कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नारासहित सम्पन्न गाउँसभाले विज्ञापन व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक–२०८३, मर्स्याङ्दी गाउँपालिका निःशुल्क विद्युत् सुविधा सम्बन्धी विधेयक–२०८३, कर्मचारी कल्याण कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक–२०८३, आर्थिक वर्ष २०८२/०८३ को खर्च अनुमोदनसम्बन्धी प्रस्ताव तथा कार्यपालिका एवं विभिन्न समितिका बैठकका निर्णय अनुमोदनसम्बन्धी प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech