काठमाडौं — गोकर्णेश्वर नगरपालिका ले हरेक वर्ष प्रदान गर्दै आएको गोकर्णेश्वर नगर साहित्य पुरस्कार अन्तर्गत यस वर्ष वरिष्ठ साहित्यकार कालीप्रसाद रिजाल र गोविन्द (वेदमणि) घिमिरे लाई सम्मान गरेको छ।
गोकर्णेश्वर नगर साहित्य पुरस्कार अर्पण तथा सम्मान समारोहमा दुवै साहित्यकारलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो। सोही अवसरमा संस्कृत भाषा तथा धर्म–संस्कृतिका प्रकाण्ड विद्वान् डा. ऋषिराम पोखरेल लाई समेत नगरपालिकाले सम्मान गरेको छ।
नगरपालिकाले यस वर्ष सम्मान कार्यक्रमलाई थप व्यापक बनाउँदै साहित्यसँगै शिक्षा, अनुसन्धान तथा चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरेको जनाएको छ।
कार्यक्रममा नगर प्रमुख दीपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली, वरिष्ठ साहित्यकारहरू, शिक्षाविद्, चिकित्सा क्षेत्रका विद्यावारिधि (PhD) व्यक्तित्वहरू, नगरपालिकाका कर्मचारी, साहित्यप्रेमी तथा नगरवासीको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक कुमार रिसालले नगरभित्रका प्रतिभाशाली व्यक्तित्वहरूको सम्मानले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा प्रवाह गर्ने विश्वास व्यक्त गरे। साहित्य, शिक्षा, स्वास्थ्य तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई नगरपालिकाले निरन्तर सम्मान गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे।
नगर प्रमुख रिसालले यस वर्ष नगरभित्र स्थायी बसोबास गर्दै विद्यावारिधि (PhD) उपाधि हासिल गरेका व्यक्तित्व तथा चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूलाई समेत सम्मान गरिएको जानकारी दिए। सम्पर्कमा आउन नसकेका कारण केही व्यक्तित्व सम्मानबाट छुटेको हुन सक्ने उल्लेख गर्दै आगामी वर्ष उनीहरूलाई पनि सम्मान गरिने बताए।
कार्यक्रममा सम्मानित साहित्यकारहरूद्वारा रचित गीत तथा कविता वाचन गरिएको थियो। साहित्यिक प्रस्तुति, सम्मान अर्पण तथा सांस्कृतिक वातावरणले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
नगरपालिकाले यस्ता सम्मान कार्यक्रममार्फत साहित्य, शिक्षा, अनुसन्धान, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्दै समाजमा सिर्जनात्मक र सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण