लमजुङ। बेसीशहर नगरपालिकाले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत ९४ जना कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि लागू हुने गरी करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख गुमानसिंह अर्यालले करार सेवामा लामो समयसम्म कार्यरत कर्मचारी सेवा अवधि समाप्त भएपछि आर्थिक सुरक्षाविहीन हुने अवस्थाको अन्त्य गर्न सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरिएको बताउनुभयो। उहाँले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारीको भविष्य सुरक्षित गर्दै उनीहरूको पेशागत मनोबल अभिवृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको उल्लेख गर्नुभयो।
नगरपालिकाका अनुसार करार कर्मचारीको तलबको ६० प्रतिशत रकमलाई आधार मानी कर्मचारीतर्फबाट ११ प्रतिशत र नगरपालिकातर्फबाट २० प्रतिशत योगदान गरी सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिने व्यवस्था गरिएको छ। यस व्यवस्थाबाट करार कर्मचारीले निवृत्तिभरण, औषधोपचार, दुर्घटना तथा आश्रित परिवार सुरक्षा लगायतका सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्नेछन्।
बेसीशहर नगरपालिकाले साउनदेखि पुस महिनासम्मको अवधिको योगदानस्वरूप ९४ जना करार कर्मचारीका लागि कुल २९ लाख ४ सय १३ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गरिसकेको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले कर्मचारीको मनोबल उच्च राख्ने, सेवामा स्थायित्वको अनुभूति गराउने तथा सेवा अवधि समाप्तिपछि आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताउनुभयो। उहाँले यस व्यवस्थाले कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीबोध तथा संस्थाप्रतिको प्रतिबद्धता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा नियमावली, २०७५ बमोजिम सरकारी कोषबाट पारिश्रमिक प्राप्त गर्ने (निवृत्तिभरण नपाउने) सबै व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने व्यवस्था गरेअनुसार बेसीशहर नगरपालिकाले उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा