लमजुङ। बेसीशहर नगरपालिकाले घरहरूको पहिचान, अभिलेखीकरण तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले मेट्रिक एड्रेसिङ प्रणालीअन्तर्गत घर नम्बरिङ कार्यको शुभारम्भ गरेको छ।
सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्यालले घर नम्बरिङ कार्यको उद्घाटन गर्नुभएको हो। उद्घाटनसँगै नगरपालिकाका कर्मचारी तथा नगर प्रहरीको टोलीले पहिलो चरणअन्तर्गत वडा नं. ७ र ८ मा घरघर पुगेर घर नम्बर प्लेट टाँस्ने कार्य सुरु गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले व्यवस्थित ठेगाना प्रणाली आधुनिक नगर व्यवस्थापनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मेट्रिक एड्रेसिङ प्रणालीले नागरिकलाई सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी बनाउनुका साथै तथ्यांक व्यवस्थापन, विपद् व्यवस्थापन तथा विकास योजना निर्माणमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले कार्यक्रमको सफल कार्यान्वयनका लागि नगरवासीको सक्रिय सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले मेट्रिक एड्रेसिङ प्रणालीमार्फत प्रत्येक घरलाई एकीकृत तथा व्यवस्थित ठेगाना प्रदान गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यस प्रणालीले सार्वजनिक सेवा प्रवाह, आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवा, कर प्रशासन, सुरक्षा व्यवस्थापन र नगर प्रशासनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ, वडा नं. ८ की अध्यक्ष पवित्रा थापा राना, वडा नं. ७ का अध्यक्ष ऋषि वस्नेत, जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
बेसीशहर नगरपालिकाले घर नम्बरिङ कार्यमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग तथा समन्वय गर्न र उपलब्ध गराइएको नम्बर प्लेट घरको स्पष्ट देखिने स्थानमा राख्न सम्पूर्ण घरधनीलाई अनुरोध गरेको छ। नगरपालिकाले मेट्रिक एड्रेसिङ प्रणालीको कार्यान्वयनले व्यवस्थित ठेगाना प्रणाली स्थापना गरी सेवा प्रवाहलाई थप नागरिकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान