logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

बेसीशहर नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अब मासिक तलब

बेसीशहर नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अब मासिक तलब


  • मंगलबार, माघ २७ २०८२
  • 1.2K
    SHARES

    लमजुङ। बेसीशहर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अबदेखि मासिक रूपमा तलबभत्ता उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आर्थिक वर्ष २०८२/०८३ को माघ महिनादेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिर्जना चिलुवाल पाण्डेले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आर्थिक असहजता हुन नदिन मासिक तलब वितरणको व्यवस्था गरिएको बताउनुभयो। उहाँले यसअघि त्रैमासिक रूपमा तलबभत्ता वितरण हुँदै आएको भए पनि शिक्षकको आवश्यकता र कार्यसम्पादनलाई मध्यनजर गर्दै अबदेखि प्रत्येक महिना नियमित रूपमा तलब उपलब्ध गराइने जानकारी दिनुभयो।

    प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले आर्थिक सुरक्षाले शिक्षकको मनोबल र कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै समयमै तलब उपलब्ध हुँदा शिक्षकहरू निश्चिन्त भएर शिक्षण कार्यमा केन्द्रित हुन सक्ने बताउनुभयो। उहाँले नियमित तलब वितरण व्यवस्थाले शिक्षकको ऋणमा निर्भरता घट्नुका साथै शिक्षण पेशाप्रतिको आकर्षण र जिम्मेवारीबोधसमेत अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

    नगरपालिकाका अनुसार शिक्षक तथा कर्मचारीले घरभाडा, खाद्यान्न, छोराछोरीको शिक्षा तथा स्वास्थ्य उपचारलगायतका मासिक खर्च नियमित रूपमा व्यवस्थापन गर्नुपर्ने भएकाले मासिक तलब वितरणको व्यवस्था व्यवहारिक र आवश्यक रहेको निष्कर्षका आधारमा यो निर्णय कार्यान्वयनमा ल्याइएको हो।

    बेसीशहर नगरपालिकामा हाल सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी गरी ४१६ जना रहेका छन्। उनीहरूको तलबभत्ताका लागि मासिक करिब २ करोड रुपैयाँ निकासा हुने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।

    बेसीशहर नगरपालिकाले यस व्यवस्थाले शिक्षक तथा कर्मचारीको मनोबल अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page