logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

बेसीशहर नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन आधारभूत आईटी तथा एआईमैत्री शिक्षण तालिम सुरु

बेसीशहर नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन आधारभूत आईटी तथा एआईमैत्री शिक्षण तालिम सुरु


  • शुक्रबार, फाल्गुन ८ २०८२
  • 63
    SHARES

    लमजुङ। बेसीशहर नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित शिक्षकहरूका लागि आधारभूत सूचना प्रविधि तथा एआईमैत्री शिक्षण–सिकाइ सम्बन्धी तालिम सुरु गरेको छ।

    कार्यक्रमअन्तर्गत नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। विद्यार्थीहरूको पठनपाठनमा असर नपर्ने गरी विभिन्न विदाका दिनहरूमा तालिम सञ्चालन भइरहेको छ।

    तालिममा प्रशिक्षकका रूपमा विनोद न्यौपाने, सूर्य अधिकारी, रणबहादुर खड्का, घनश्याम शर्मा, पुष्पसागर बराल, विष्णु बराल तथा नगरपालिकाका कर्मचारी रेशम घिमिरे र सुनिल घिमिरेले सहजीकरण गरिरहेका छन्।

    तालिममा सहभागी शिक्षकहरूलाई डिजिटल पाठ योजना निर्माण, पावरपोइन्टमार्फत अध्यापन, प्रश्नपत्र तयार गर्ने विधि, डिजिटल शैक्षिक सामग्रीको प्रयोग, साइबर सुरक्षासम्बन्धी जानकारी, डिजिटल साक्षरता तथा शिक्षामा प्रयोग हुने सरकारी डिजिटल प्लेटफर्महरूको उपयोगबारे प्रशिक्षण दिइएको छ। साथै, पछिल्लो समय बढ्दो कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराइएको छ।

    नगरपालिकाका कार्यकारी अधिकृत सुमन अधिकारीले प्रविधिको प्रयोगमार्फत बालबालिकाको सिकाइ क्षमता अभिवृद्धि गर्ने, ई–लर्निङ प्रवर्द्धन गर्ने तथा सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले दीर्घकालीन रूपमा बेसीशहर नगरपालिकालाई स्मार्ट पालिकाको रूपमा विकास गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभयो।

    नगरपालिकाका अनुसार शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै २०८४ सालसम्म नगरपालिका भित्रका सबै विद्यालयका कक्षाकोठामा डिजिटल शिक्षण प्रणाली विस्तार गर्ने लक्ष्य राखिएको छ।

    शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाल पाण्डेले प्रविधि तालिमले शिक्षकहरूमा डिजिटल शिक्षण क्षमता वृद्धि भई सामुदायिक विद्यालयको शिक्षण गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page