logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा प्रति लिटर रु. २ अनुदान दिने

बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा प्रति लिटर रु. २ अनुदान दिने


  • बिहिबार, भाद्र ११ २०८२
  • 1.6K
    SHARES

    तनहुँ। बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ देखि दूध उत्पादन गर्ने कृषकलाई प्रति लिटर रु. २ का दरले अनुदान उपलब्ध गराउने भएको छ। कृषकलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले यस कार्यक्रमका लागि रु. ३५ लाख बजेट विनियोजन गरेको हो।

    गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाका अनुसार सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई उत्पादनका आधारमा प्रति लिटर रु. २ अनुदान उपलब्ध गराइनेछ। उहाँले यस कार्यक्रमले कृषकलाई प्रोत्साहन गर्नुका साथै गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    हाल बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्था र बन्दीपुर–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकहरूले उत्पादनका आधारमा उक्त अनुदान प्राप्त गर्दै आएका छन्।

    गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै मौरीपालन, मुसुरो, तोरी तथा मकै खेती प्रवर्द्धन, च्याउ खेती, व्यावसायिक फलफूल खेती र बीउबिजन वितरण कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको जनाएको छ। स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि हाटबजार व्यवस्थापन तथा सञ्चालनमा रु. ९ लाख बजेट छुट्याइएको छ।

    त्यसैगरी पर्यटन, संस्कृति तथा स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा पर्यटन पूर्वाधार विकासका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको अध्यक्ष थापाले बताउनुभयो।

    युवालाई स्वरोजगारसँग जोड्न बजारको मागअनुसार व्यावसायिक सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि उद्यमशीलता विकास तालिम, पूर्व सिकाइ मान्यताअन्तर्गत सीप परीक्षण तथा स्थानीय उत्पादनको प्रदर्शनी र बजारीकरणका लागि रु. २० लाख बजेट विनियोजन गरिएको छ।

    स्वास्थ्य क्षेत्रतर्फ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा घरदैलो सेवा, नसर्ने रोगको स्क्रिनिङ, विपन्न तथा दीर्घरोगी नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिचान र उपचारसम्बन्धी शिविर सञ्चालनका कार्यक्रमसमेत समावेश गरिएको गाउँपालिकाले जनाएको छ।

    यसैगरी प्राकृतिक विपद्को पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका लागि रु. २५ लाख र वृक्षारोपण, वन तथा वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि रु. १५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page