logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

सिद्धगुफाको प्रवर्द्धनमा बन्दीपुर गाउँपालिका, पर्यटन पूर्वाधार विस्तारमा जोड

सिद्धगुफाको प्रवर्द्धनमा बन्दीपुर गाउँपालिका, पर्यटन पूर्वाधार विस्तारमा जोड


  • मंगलबार, पुष १४ २०८२
  • 1.2K
    SHARES

    तनहुँ। नेपालकै ठूलो मानिने बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासलाई प्राथमिकतामा राख्दै बन्दीपुर गाउँपालिका सक्रिय बनेको छ। प्रचुर पर्यटन सम्भावना बोकेको सिद्धगुफामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले गाउँपालिकाले पूर्वाधार निर्माणदेखि प्रचारप्रसारसम्मका कार्यक्रमलाई अघि बढाएको हो।

    गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले पृथ्वी राजमार्गबाट करिब २० मिनेटको पैदल यात्रामै पुग्न सकिने सिद्धगुफाको पर्याप्त प्रचारप्रसार हुन नसक्दा अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको बताउनुभयो। उहाँले गुफाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाले यसका लागि बजेट विनियोजन गरी विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाएको जानकारी दिनुभयो।

    अध्यक्ष थापाका अनुसार सिद्धगुफा क्षेत्रमा रङरोगन, सिँढी मर्मत, विश्रामस्थल निर्माण तथा सौन्दर्यकरणका कार्य सञ्चालन गरिनेछ। धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण मानिने सिद्धगुफामा प्रत्येक वर्ष बोलबम मेला लाग्ने तथा सिद्धबाबाको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको उहाँले बताउनुभयो।

    सिद्धगुफा विकास समितिको सक्रियता कमजोर भएपछि यसको प्रभावकारी व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक पहल थालेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी गुफाको समग्र व्यवस्थापनलाई थप व्यवस्थित बनाइने अध्यक्ष थापाले बताउनुभयो।

    गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारदेखि सिद्धगुफासम्म पुग्ने पैदलमार्गमा रेलिङ निर्माण तथा ढुङ्गा छाप्ने कार्य सम्पन्न भएको छ। साथै नवप्रवर्तन साझेदारी कोषअन्तर्गत रु. १ करोड ३ लाख ९५ हजार ३०० को लागतमा गुफा क्षेत्रको सौन्दर्यकरण गरिएको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षमा सिद्धगुफाको थप विकासका लागि रु. १० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिनुभयो।

    विसं २०४४ चैत १३ गते स्थानीयवासी तथा एक विदेशी शिक्षकको टोलीले पहिलोपटक पत्ता लगाएको सिद्धगुफा पुरातात्त्विक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा परिचित छ। पुरातत्त्वविद्का अनुसार करिब ३५ सय वर्ष पुरानो मानिएको यो गुफाभित्र विभिन्न ऐतिहासिक सामग्री तथा चुनढुङ्गाबाट बनेका आकर्षक प्राकृतिक आकृतिहरू रहेका छन्, जसले यसलाई देशकै महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना बोकेको गाउँपालिकाको विश्वास छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page