logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब रु. ६८ करोड ७९ लाखको बजेट सार्वजनिक

बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब रु. ६८ करोड ७९ लाखको बजेट सार्वजनिक


  • बुधबार, असार १० २०८३
  • 1.1K
    SHARES

    तनहुँ। बन्दीपुर गाउँपालिकाले सुशासन, दिगो पूर्वाधार विकास तथा स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसाको बजेट सार्वजनिक गरेको छ।

    गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष पञ्चमाया गुरुङले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक ऐन प्रस्तुत गर्नुभएको हो। सो अवसरमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले २२२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो।

    अध्यक्ष थापाका अनुसार आगामी वर्ष स्वास्थ्य सेवा विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि, पर्यटन पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। साथै पारदर्शिता, जवाफदेहिता र दिगो विकासलाई संस्थागत गर्दै समग्र विकासलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो।

    गाउँपालिकाका अनुसार बजेटका लागि संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट रु. ६४ करोड ३८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा जुटाइनेछ। साथै अनिवार्य दायित्वतर्फ रु. ४ करोड र लागत सहभागितातर्फ रु. ४० लाख समावेश गरिएको छ।

    विनियोजनअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु. १३ करोड ४० लाख ९७ हजार ५६९, पूर्वाधार विकासतर्फ रु. १३ करोड १२ लाख ८३ हजार २८० रुपैयाँ ३० पैसा, सामाजिक विकासतर्फ रु. ९ करोड ३८ लाख, आर्थिक विकासतर्फ रु. २ करोड ९५ लाख तथा वन, वातावरण र विपद् व्यवस्थापनका कार्यक्रमका लागि रु. ७० लाख विनियोजन गरिएको छ। त्यसैगरी छवटै वडामा पूर्वाधार तथा विषयगत कार्यक्रम सञ्चालनका लागि रु. ४ करोड ५० लाख बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ।

    गाउँसभामा ऊर्जा नीति विधायन समितिका संयोजक बलबहादुर गुरुङले ऊर्जा नीति तथा विपद् व्यवस्थापन ऐन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, सुशासन समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष तिलकबहादुर कुँवरले संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।

    यसैगरी लेखा समिति संयोजक तथा वडा नं. ५ का अध्यक्ष धुर्वप्रसाद लामिछानेले आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षणबाट देखिएका बेरुजुसम्बन्धी प्रतिवेदन गाउँसभामा पेश गर्नुभयो। गाउँसभामा बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल तथा डुम्रे आधारभूत अस्पतालसँग सम्बन्धित विभिन्न विषयमा समेत छलफल भएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page