लमजुङ। सुन्दरबजार नगरपालिकामा पर्यटन प्रवर्द्धन तथा विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको आयोजनामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष सन्देश पौडेलको अध्यक्षता तथा सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजार नगरपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रभावकारी प्रचारप्रसारमार्फत पर्यटन क्षेत्रको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पर्यटनलाई स्थानीय आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष सन्तोष पौडेलले ‘सुन्दरबजारका पर्यटकीय स्थलहरूको सम्भावना र विकासको मोडल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले पर्यटकीय सम्पदाको दीर्घकालीन संरक्षण, व्यवस्थित पूर्वाधार विकास, प्रभावकारी ब्रान्डिङ, डिजिटल प्रचारप्रसार तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत सुन्दरबजारलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थानीय तह, निजी क्षेत्र, सरोकारवाला निकाय र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पर्यटकीय क्षेत्रको विकाससँगै सुरक्षा, सरसफाइ तथा गुणस्तरीय सेवा प्रवाहमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
अन्तरक्रियामा जनप्रतिनिधि, सुन्दरबजार नगरपालिकाका शाखा प्रमुख, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले सुन्दरबजारका पर्यटकीय सम्भावनाको संरक्षण, पूर्वाधार विकास, प्रचारप्रसार तथा पर्यटनमैत्री वातावरण निर्माणका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान