logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

पोखराबाटै गाउँपालिकाको सेवा : क्व्होलासोंथारद्वारा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन

पोखराबाटै गाउँपालिकाको सेवा : क्व्होलासोंथारद्वारा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन


  • आइतबार, भाद्र १४ २०८२
  • 1.4K
    SHARES

    लमजुङ: लमजुङको क्व्होलासोंथार गाउँपालिकाले पोखरा महानगर क्षेत्रमा बसोबास गर्दै आएका गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गरेको छ। गाउँपालिकाबाट टाढा बसोबास गर्ने नागरिकलाई सहज, छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

    पोखराको सेतीनहरस्थित पसगाउँ समाज घरमा सञ्चालन भइरहेको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले नागरिकको घरदैलोमै सेवा पुर्‍याउने अवधारणाअनुसार शिविर सञ्चालन गरिएको बताउँदै गाउँपालिकासम्म पुग्न कठिनाइ हुने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गर्नुभयो।

    गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले पोखरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई लक्षित गरी सेवा प्रवाह गरिएको बताउँदै जहाँ रहे पनि नागरिकले सहज रूपमा स्थानीय सरकारको सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

    गाउँपालिकाका अनुसार शिविर साउन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। निर्धारित कार्यतालिकाअनुसार साउन १५ गते वडा नं. १, २ र ३, साउन १६ गते वडा नं. ४ र ५, साउन १७ गते वडा नं. ६ र ७, साउन १८ गते वडा नं. ८ र ९ का नागरिकलाई सेवा प्रदान गरिनेछ भने साउन १९ गते छुट भएका सबै सेवाग्राहीका लागि सेवा उपलब्ध गराइनेछ।

    शिविरमार्फत सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, जन्म, मृत्यु, विवाह तथा सम्बन्ध विच्छेद दर्ता, मालपोत तथा भूमिकर संकलन, विभिन्न प्रकारका सिफारिस तथा वडा कार्यालयबाट प्रदान गरिने अन्य प्रशासनिक सेवाहरू उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ।

    शिविरमा आवश्यक प्रशासनिक प्रक्रिया एकै स्थानबाट सम्पन्न गर्न सकिने व्यवस्था मिलाइएकाले पोखरा क्षेत्रमा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई समय, श्रम र खर्चको बचत हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको मिति तथा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ।

    शिविर उद्घाटन कार्यक्रम गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख दिपकराज पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा पोखरामा बसोबास गर्ने क्व्होलासोथारवासी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page