logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

टोखा नगरपालिकाले सार्वजनिक गर्‍यो आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

टोखा नगरपालिकाले सार्वजनिक गर्‍यो आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम


  • मंगलबार, असार ९ २०८३
  • 1.4K
    SHARES

    काठमाडौं । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विकास, सुशासन, डिजिटल सेवा, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    शुक्रबार सम्पन्न १९औँ नगरसभा अधिवेशनमा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्षमा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण तथा सेवा प्रवाहका उपलब्धिको समीक्षा गर्नुभयो।

    नगरपालिकाले ‘समुन्नत, स्वच्छ, हरित र नागरिकमैत्री टोखा’ निर्माणलाई मुख्य लक्ष्यका रूपमा अघि सारेको छ। आगामी वर्ष सडक मानवमुक्त नगर, बालमैत्री नगर तथा योगनगर निर्माणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने जनाइएको छ।

    आर्थिक विकासतर्फ उद्यमशीलता प्रवर्द्धन, साना तथा लघु उद्योगको विकास, सीपमूलक तालिम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान र अनुभवलाई स्थानीय विकाससँग जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ। श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानलाई पनि निरन्तरता दिइने भएको छ।

    कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि यान्त्रिकीकरण, किसान सूचीकरण तथा नगदेबाली उत्पादन प्रवर्द्धन गरिनेछ भने पर्यटन, महिला उद्यमशीलता र सहकारी क्षेत्रको प्रभावकारी नियमनलाई समेत प्राथमिकता दिइएको छ।

    शिक्षातर्फ शिक्षक दरबन्दी मिलान, आधुनिक शिक्षण प्रणाली, सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम, विद्यालयस्तरीय खेलकुद प्रवर्द्धन तथा निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति कार्यान्वयनलाई निरन्तरता दिइने नीति लिइएको छ।

    स्वास्थ्य सेवामा मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिँदै महिलाको स्तन तथा पाठेघर परीक्षण, मुटु र मिर्गौला रोगीको उपचार, स्वास्थ्य संस्थाबाट न्यूनतम १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा लागू गरिने जनाइएको छ।

    पूर्वाधार विकासअन्तर्गत स्मार्ट सडक बत्ती, सार्वजनिक शौचालय, व्यवस्थित पार्किङ, खानेपानी व्यवस्थापन, नदी–नाला सरसफाइ, प्रभावकारी फोहर व्यवस्थापन तथा मुख्य सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने कार्यक्रम समेटिएको छ। डिजिटल सेवा विस्तार गर्दै कर भुक्तानीलाई प्रविधिमैत्री बनाउने नीति पनि अघि सारिएको छ।

    सामाजिक सुरक्षातर्फ एकल महिला, बालबालिका तथा किशोर–किशोरीको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गरिने नगरपालिकाले जनाएको छ।

    नगरप्रमुख प्रकाश अधिकारीले विकास आयोजना समयमै सम्पन्न गर्ने, पूँजीगत खर्च वृद्धि गर्ने तथा सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    नगरसभामा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, नगरसभा सदस्य, शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page