काठमाडौं । टोखा नगरपालिकाले १२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। नगर सभाहलमा आयोजित मूल समारोहसँगै वडास्तरीय कार्यक्रम, विद्यालयस्तरीय गतिविधि, धिमेबाजा प्रतियोगिता, रक्तदान, सम्मान तथा सामाजिक कार्यक्रम सञ्चालन गरिएको थियो।
स्थापना दिवसका अवसरमा आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी अनुश्री मिश्र प्रथम, बेबील्याण्ड विद्यालयका आरुश बुढाथोकी द्वितीय तथा धापासीका धिरेन्द्र बुडा तृतीय भएका थिए। धिमेबाजा प्रतियोगितामा सरस्वती धिमेखल प्रथम भएको थियो।
शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। साथै, शतप्रतिशत नतिजा हासिल गरेका जालुपा र त्रियोग सामुदायिक विद्यालयलाई विशेष सम्मान गरिएको थियो।
स्थापना दिवसको अवसरमा नगरपालिकाले नवजात शिशुहरूको बाल बचत खातामा जनही पाँच हजार रुपैयाँ जम्मा गरी सामाजिक सुरक्षासम्बन्धी नयाँ कार्यक्रमको शुभारम्भ गरेको छ। क्यान्सर, मुटु, मिर्गौला रोगी तथा न्यून आय भएका नागरिकलाई आर्थिक सहयोग वितरण गरिएको थियो भने ९८ वर्षीय पहलमान सिंह थापा र १०४ वर्षीया दिलकुमारी लामिछानेलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो। उत्कृष्ट करदाताका रूपमा ग्राण्डी इन्टरनेसनल अस्पताललाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले विगत १२ वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै आगामी दिनमा डिजिटल सेवा विस्तार, दिगो सडकबत्ती, गुणस्तरीय स्वास्थ्य सेवा तथा नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो।
उपप्रमुख मुरारी तामाङले शिक्षा, महिला सशक्तीकरण, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नगरको समृद्धिका लागि निरन्तर काम गरिने धारणा व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, राजस्व व्यवस्थापन तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको बताउँदै आगामी दिनमा सुशासन र नागरिकमैत्री सेवा विस्तारलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। नगरपालिकाले स्थापना दिवसलाई विकास उपलब्धिको समीक्षा, सामाजिक उत्तरदायित्व र नागरिक सहभागिता अभिवृद्धि गर्ने अवसरका रूपमा मनाएको जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा