लमजुङ । मर्स्याङ्दी गाउँपालिका–७, ङादीमा निर्माण सम्पन्न भएको १० शैयाको मर्स्याङदी अस्पताल भवन गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा निर्माण सम्झौता भई सुरु भएको भवन निर्धारित समय र प्राविधिक मापदण्डअनुसार सम्पन्न भएपछि निर्माण कम्पनीले गाउँपालिकालाई जिम्मा दिएको हो।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार करिब ६ करोड १८ लाख ७९ हजार ४८१ रुपैयाँ लागतमा निर्माण भएको दुईतले आरसीसी भवनमा बिरामी उपचारका लागि आवश्यक पूर्वाधार तयार गरिएको छ। भवनमा उपचार कक्ष, १५ वटा शौचालय, स्यानिटरी तथा विद्युतीय जडान, खानेपानी आपूर्तिका लागि मोटर र ट्याङ्की तथा १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ।
अध्यक्ष गुरुङले भवन हस्तान्तरणसँगै आगामी आर्थिक वर्ष २०८३/०८४ देखि अस्पताल सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन, स्वास्थ्य उपकरण जडान तथा सेवा सञ्चालनसम्बन्धी अन्य प्रक्रिया पनि अघि बढाइएको छ।
गाउँपालिकाका अनुसार अस्पताल सञ्चालनमा आएपछि मर्स्याङदी गाउँपालिकाका नागरिकले आफ्नै पालिकाभित्र सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा पाउनेछन्। यसले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा अन्य स्थानमा जानुपर्ने बाध्यता घट्नुका साथै स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यो अस्पताल सञ्चालनमा आएपछि मर्स्याङदीवासीले थप प्रभावकारी र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण