गोरखा । अनुकूल मनसुन र पर्याप्त वर्षाका कारण गोरखामा यस वर्ष धान रोपाइँले तीव्रता पाएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा करिब ८१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
कार्यालयका अनुसार यस वर्ष जिल्लाभर करिब १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुने अनुमान गरिएको छ। समयमै मनसुन सक्रिय भएकाले अधिकांश फाँटमा सहज रूपमा रोपाइँ सम्पन्न भइरहेको कृषि विकास कार्यालयले जनाएको छ।
कृषि विकास कार्यालय गोरखाका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यस वर्ष मौसम धान खेतीका लागि अनुकूल रहेकाले रोपाइँले अपेक्षाकृत गति लिएको हो।
‘समयमै मनसुन भित्रिएकाले अधिकांश क्षेत्रमा रोपाइँ सहज रूपमा भइरहेको छ। साउन मसान्तसम्म जिल्लाभरको विस्तृत तथ्यांक संकलन हुनेछ,’ उनले भने। उनका अनुसार यस वर्ष जिल्लामा करिब ९५ प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।
गत वर्ष पर्याप्त वर्षा नहुँदा जिल्लामा करिब ८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। खडेरीका कारण विशेषगरी सहिद लखन र भीमसेनथापा गाउँपालिकाका किसान प्रभावित बनेका थिए। यस वर्ष भने पर्याप्त वर्षा भएकाले सिँचाइको समस्या नदेखिएको र धान उत्पादनसमेत बढ्न सक्ने कृषि प्राविधिकहरूको अनुमान छ।
यद्यपि, पर्याप्त वर्षा भए पनि किसानहरूले विगतका वर्षझैँ यस वर्ष पनि रासायनिक मलको अभाव झेल्नुपरेको बताएका छन्।
जिल्लामा किसानहरूले रामधान, सावित्री, सुख्खा–२ लगायतका उन्नत जातका धान तथा च्याम्पियन र युएस–३१२ जस्ता हाइब्रिड जात रोपेका छन्। केही स्थानमा स्थानीय जातका धानको खेतीसमेत गरिएको कार्यालयले जनाएको छ।
गोरखाको दरौँदी फाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट र बोर्लाङफाँट जिल्लाका प्रमुख धान उत्पादन क्षेत्र हुन्। यद्यपि, उत्तरी गोरखाका उच्च हिमाली भूभागमा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकामा भने धान खेती गरिँदैन।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी